जनकपुरधाम:पाँच खेलको टी–२० आई सिरिज खेल्न वेस्ट इन्डिजको ए टोली नेपाल आइपुगेको छ ।
वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।
वेस्ट इन्डिजको टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।
नेपालसँगको खेलका लागि वेस्ट इन्डिजले बलियो टोली बनाएको छ । वेस्ट इन्डिज टोलीको कप्तानी दुई पटकको ट–२० विश्वकप विजेता रोस्टन चेसले गर्नेछन् ।
वेस्ट इन्डिजको टोलीमा सन् २०१६ को विश्वकप विजेता टोलीका जोनसन चार्ल्स र आन्द्र फ्लेचर छन् ।
आगामी जुनमा हुने टी–२० विश्वकप अघि नेपाली टोलीले शनिबारदेखि वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्दैछ ।
पाँच खेलको सिरिज शनिबारदेखि सुरु हुनेछ । दोस्रो खेलमा आइतबार तथा तेस्रो खेल बुधबार खेल्ने तालिका छ । सिरिजको चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ ।
सिरिजका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछ । सिरिजका सबै खेल १२ः१५ बजे सुरु हुनेछ ।
वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टोलीले ओमानमा एसीसी प्रिमियर कपमा सहभागी भएर स्वदेश फर्केको छ । प्रिमियर कपको सेमिफाइनलमा नै रोकिएको नेपालले एसिया कप खेल्ने अवसर गुमायो । यस्तै तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पनि पराजित हुँदै इमर्जिङ कप खेल्ने मौका गुमाएको थियो ।