जनकपुरधाम:यही वैशाख १६ गतेदेखि धनुषामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु हुने लागेको छ । जिल्लाका १८ वटै स्थानीय तहहरुमा वैशाख १६ गतेदेखि २९ गतेसम्म १५ दिने हात्तीपाइले विरुद्धको आम औषधी खुवाईने अभियान सुरु हुन लागेको हो ।
जिल्लामा ८ लाख ७४ हजार जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवले जानकारी दिएका छन् । मधेश प्रदेशका धनुषासहित सर्लाही, रौतहट र महोत्तरी गरी ४ वटा जिल्लाहरुमा हात्तीपाइले रोगविरुद्धको अभियान संचालन हुने बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी उनले बताए ।
अभियान जिल्लाको १८ वटै पालिका, प्रत्येक स्वास्थ्य संस्था र विद्यालयसहित घरदैलोमा गई स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाले औषधि खुवाउने स्वास्थ्य कार्यालय धनुषाका शिवजी दासले बताए । यो पटक ७ सय स्वास्थ्यकर्मी र ९४५ महिला स्वयंसेविका समेतलाई परिचालन गरिने बताउंदै उनले अभियान सफल पार्न सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन उनले अनुरोध गरे ।
अभियान सफल पार्न औषधि पूर्ण सुरक्षित रहेको सन्देश दिन पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले औषधि खाएर अभियानको सुरुवात गरेका छन् । १६ गते प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट उद्घाटन गरी अभियानको संचालन गरिने जनाइएको छ । हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन, डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन् ।
दासले औषधि बारे जानकारी दिदै भने खाली पेटमा वा कसै कसैलाई सेवन गरेमा सामान्य वाकवाकी लाग्न सक्ने, बान्ता हुने, रिगटा लाग्न सक्ने बताए । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्दा खासै साइड इफेक्ट हुँदैन । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने स्वास्थ्य कार्यालयका दासले बताए ।
देशभरका ७ जिल्ला मात्रै हातीपाइले रोगमुक्त हुन सकेको छैन । मधेशका प्रदेशका ४ जिल्लासहित झापा, रसुवा र कपिलवस्तुमा हातीपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए । यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ ।
कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
हातीपाइले रोगबाट बच्न आइभरमेक्टीन, डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोलसहितका प्रकारका औषधि खुवाईन्छ । यी तीन थरिका औषधिहरुको प्रयोगले हातीपाईले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । तीन प्रकारको औषधिले कामपनि तीन थरिको गर्छ ।
आइभरमेक्टीनले परजीवी घटाउने काम गर्छ, डाइ इथाइल्कारबामजिनबाट व्यवस्क जुका मारिन्छ भने अबेन्डाजोलले जुकाहरुको प्रजनन क्षमता घटाउने काम गर्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि विश्व् स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हुन् ।
हातीपाइले रोगको औषधि कस–कसले सेवन गर्नु हुँदैन ?
–दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
–गर्भवती र सात दिन सम्मका सुत्केरी
–छारे रोगको समस्या भएका व्यक्तिहरु
–पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु
–सिकिस्त बिरामीहरु