उत्पादन कम्पनी सिजीलाई २ लाख जरिवाना, बजारमा फिर्ता लिन निर्देशन
उत्पादक डेली समाचारदाता
जनकपुरधाम:विश्वका ५ देशबाट उत्पादन तथा ३५ देशमा विक्री वितरण हुँदै आएको चौधरी ग्रुप (सिजी) को उत्पादन वाईवाई चाउचाउमा प्राणघातक अत्यधिक मात्रामा एसिड पाइएको छ ।
काठमाडौ महानगरपालिकाले गरेको अनुगमनमा चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउमा अत्यधिक मात्रामा एसिड पाइएको भनी गुणस्तर परिक्षणमा फेल गर्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा पाइएको छ ।
रिपोर्टअनुसार चाउचाउमा १ एमजीभन्दा पनि एसि प्रयोग गर्नुपर्नेमा वाइवाईमा १३.९३४ एमजी एसिड देखिएको छ । एसिड मानवजीवनका लागि प्राण घातक रहेकाले एक एमजीभन्दा पनि कम प्रयोग गर्न मापदण्ड बनाइएको हो ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । बैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।
महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट बैशाख २ गते चौधरी ग्रुपद्वारा २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल÷वाईएल २३ का १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते आएपछि महानगरले प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्राविधिक अनिल बस्नेतले एसिडको निरन्तर प्रयोगले क्यान्सरलगायत घातक रोग लाग्न सक्ने भएकाले चाउचाउको बिक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजलाई महानगरलाई ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने निर्देशनसहित प्रतिवद्धता गर्दै पत्र काटेको बताउंदै गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी. जी. फुड नेपाल हुनेछ बताए ।