काठमाडौ:प्रहरीले एक किलो सात सय ग्राम सुन र एक करोड रुपैयाँसहित पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ । काठमाडौ बसेर सुनको अवैध कारोबारसहित तस्करी गर्दै आएको ती गिरोह रहेको प्रहरीको दाबी छ ।

बिहीवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकाहरुलाई शुक्रवार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेशप्रकाश विभुते र १८ वर्षीय गणेश सतिश बाल्टे रहेका छन् ।

यस्तै, झापाका ३० वर्षीय दिनेश खरेल, झापाकै २२ वर्षीय भरतराज खरेल, दार्चुलाका २१ वर्षीय आयुष बडू र ४७ वर्षीय गणेशदत्त बडू छन् । पक्राउ परेका मध्ये गणेशदत्त ८८ किलो सुन तस्करीमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा दुईवटा अप्रेशन चलाएको प्रहरीले काठमाडौं महानगरपालिका– २४ दुछेंननी टोलमा अफिस नै खडा गरेर अवैध सुन कारोबार हुँदै आएको फेला पारेको थियो । इन्द्रचोकनजिकै रहेको दुछेंननी टोलमा उनीहरूले गोप्य कोठामा सुन बेच्दै गरेको भेटिएको थियो । यस गिरोहका नाइके हुन्, दार्चुला टाटेका गणेश दत्त बडु । बडु तिनै व्यक्ति हुन्, जो ७ वर्षअघि ८८ किलो सुन प्रकरणमा पनि पक्राउ परेका थिए ।

उनीसहित अन्य व्यापारीले सो अवैध सुनमा लगानी गरेको खुलेको थियो । बडु काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका साहु थिए । रसुवागढी नाकाबाट तस्करी भएर आउने सुनमा उनीहरूले लगानी गरेर बिक्री समेत गर्ने गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

तत्कालीन अवस्थामा ४३ करोड मूल्य बराबरको ८८ किलो सुन अवैधरूपमा काठमाडौं ल्याएको मुद्दामा सफाइ पाएर बडु फुत्किन सफल भएका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार बडुले आफू सो समयमा ३ लाख धरौटीमा छुटेको बयान दिएका छन् । बडु त्यस्ता बाबु हुन्, जसले पढ्ने उमेरमा आफ्नो २१ वर्षीय छोरालाई समेत अवैध धन्दामा संलग्न गराएका छन् । उनका छोरा आयुष बडु पनि सक्रिय रूपमा अवैध सुनको कारोबारमा संलग्न भएको प्रहरीले जनाएको छ ।

यस गिरोहमा हालसम्म ३ भारतीय र ४ नेपाली नागरिकको संलग्नता खुलेको छ । पहिलो अपरेसनमा प्रहरी टोलीले नाइके ४७ वर्षीय गणेशदत्त बडुसहित झापा बिर्तामोडका दिनेश खरेल, सुन खरिद गर्न भारतबाट नेपाल छिरेका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टेलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट करिब एक केजी सुन र एक करोड २६ लाख नगद बरामद भएको छ । दोस्रो अपरेसनमा ७६६.२५ ग्राम सुन र १७ लाख ६० हजार नगदसहित झापाका भट्टराज खरेल र बडुका पुत्र आयुष बडुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको