जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा)ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि निर्देशिका तयार गरेको छ । पार्टीका कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले निर्देशिकाको मस्यौदा तयार गरेको हो ।
राउतले शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकमा सो मस्यौदा पेस गरेका हुन् । कार्यकारिणी सदस्यहरूले मस्यौदा अध्ययन गरेपछि शनिबार पुन: बस्ने बैठकमा मस्यौदामाथि छलफल हुने जसपाका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
राउतले प्रस्तुत गरेको मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् । यस्तै महाधिवेशन प्रतिनिधि कुन कलस्टरबाट कसरी प्रतिनिधि चयन गर्ने लगायतका प्रावधानहरू पनि प्रस्ताव गरिएको छ । प्रस्तावमाथि शनिबार छलफल हुने र त्यसलाई अन्तिम रूप दिने राउतले बताए । जसपाको एकता महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुने भएको छ ।
महाधिवेशनकै लागि संगठित सदस्यहरू पनि टुङ्गो लगाइसकेको छ । जसपाका अनुसार संगठित सदस्य करिब १ लाख ४५ हजार रहेका छन् । ती संगठित सदस्यको बारेमा पनि कार्यकारिणी समितिले छलफल गर्ने बताइएको छ।