जनकपुरधाम:आर्थिक मन्दीका कारणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा मात्रै धनुषामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भइरहेको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ ११३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनुअघि उत्पादित सामग्री समेत बिक्री भएको छैन । कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म ६६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार ६०२ उद्योग नवीकरण भएका छन् ।

यसैगरी, वाणिज्यतर्फ ७३४ वटा व्यावसायिक फर्म नवीकरण तथा ८३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले रु २४ लाख ११ हजार ५३० राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार ७७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ ।

कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरू बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ । व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरू खाली गरी व्यापारी पलायन हुन थालेका छन् ।

गत आव २०७९–८० मा दर्ता भएका उद्योगमध्ये साना उद्योग ५३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार १२८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरूको स्थिर तथा चालु पुँजी रु तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार ९९९ रहेको जनाइएको छ । बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरू सञ्चालन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको