
जनकपुरधाम:जनकपुरधाम सहित देशको तराई मधेशका भूभागमा अझै पांच दिन ताँतो हावासहितको अत्यधिक गर्मी रहने सम्भावना छ । गत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“मधेश प्रदेशका तराई भूभागका तापक्रममा मंगलवारसम्म करीब ४३ डिग्री सेल्सियससम्म पुग्ने र बुधवार र बिहीवार ४१ डिग्री सेल्सियस भन्दा माथि रहनेछ । त्यसपछि शुक्रवारदेखि क्रमश घट्दै जानेछ । पांच दिनसम्म तापक्रममा केही परिवर्तन खासै परिवर्तन नभएपनि मौसम सफा रहनेछ । बुधवारदेखि केही स्थानमा हावाहुरी हुने महाशाखाले शनिबार अपराह्न जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।
तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । ती भूभागहरूमा आगामी पाँच दिन (२०८१ वैशाख १६ गतेदेखि २०८१ वैशाख २० गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन बुलेटिनमा भनेको छ ।
पहाडी भूभागका उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि तातो हावा तथा तातो लहरसम्बन्धी पाँचदिने नै विशेष बुलेटिन जारी गरेको थियो । त्यसको अवधि सकिएसँगै अर्को विशेष बुलेटिन जारी गरेको हो ।
“तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएको छ । तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरबाट जोगिन विभिन्न उपाय अपनाउन समेत महाशाखाले सुझाव दिएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह, सुझाव लिन समेत अनुरोध महाशाखाले गरेको छ ।
अत्यधिक गर्मीका कारण देशैभरि डढेलो पनि फैलिएको छ । गत एक सातामा देशका एक हजारभन्दा बढी स्थानमा डढेलो लागेको छ । अहिले पनि धेरै स्थानमा डढेलो जारी छ ।