जनकपुरधाम:जनकपुरधाममा अत्याधुनिक मधेस सिटी स्क्यान एण्ड डायग्नोस्टिक सेन्टरको उदघाटन गरिएको छ । शनिबार नेकपा एमालेका नेतृ एवं पूर्व मन्त्री जुली महतोले एक कार्यक्रमका बिच मधेस सिटी स्क्यान एण्ड डायग्नोस्टिक सेन्टरको उदघाटन गरेकी हुन् ।
सेन्टरको उदघाटन गर्दै पूर्वमन्त्री महतोले मधेसको स्वास्थ्य सूचकांक पुछारमा रहेको अवस्थामा यस प्रकारको अत्याधुनिक सेवा सहितको सिटी स्क्यान सेन्टर खुल्नुले आउने दिनमा मधेसको स्वास्थ्य स्थिति सुधारमा ल्याउन सहायक साबित हुने बताइन् । यसका साथै उनले बिरामीलाई भार नपर्ने गरी स्वास्थ्य सेवा प्रदान गर्नका लागि संचालकहरुसंग आग्रह समेत गरिन् ।
शनिबारदेखि संचालनमा आएको सो सेन्टरबाट सिटी स्क्यान, एक्सरे, भिडियो एक्सरे लगायतका सेवा सेवाग्राहीले लिन सक्नेछ । आउने दिनमा सेन्टरको ८ वटै जिल्लामा शाखा खोल्नुका साथै एमआरआई समेत संचालनमा ल्याउने योजना रहेको मधेस सिटी स्क्यान एण्ड डायग्नोस्टिक सेन्टरको संचालक समितिले जनाएको छ । सेन्टरमा सुविधा लिन आउने गरिब एवं असहायलाई शुल्कमा सुविधा प्रदान गरिने जनाइएको छ ।
यस अघि जनकपुरधाममा हुने सिटी स्क्यान भरपर्दो नहुने गरेको गुनासालाई सेन्टरले चिरेर अगाडी बढ्ने त्यहाँ कार्यरत चिकित्सकहरुको दावी रहेको छ । सेन्टरको उदघाटनमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको समेत उपस्थिति रहेको थियो ।