साना दलको प्रधानमन्त्रीलाई दवाबमा राख्ने योजना

जनकपुरधाम:नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नयाँ समीकरणका लागि छलफल अगाडि बढेको सार्वजनिक भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) मात्र होइन, साझेदार साना दलहरू पनि तरंगित छन् ।

नयाँ समीकरणको चर्चाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस)लगायतले प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ । तर, रविले भने आफूविरुद्ध कुनै हालतमा छानबिनको प्रक्रिया अगाडि नबढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब बढाएका छन् ।

अध्यादेश नै ल्याएर सहकारीपीडितको समस्या समाधान गर्नुपर्ने उनको माग छ । रवि गृहमन्त्री पनि हुन् । उनले आफूले चाहेको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा लैजान सक्छन् । तर, उनले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीका नाममा पत्र लेखेर सहकारी तथा लघुवित्तपीडित सिंहदरबार छिर्नुअघि नै माग सम्बोधन गर्नुपर्ने बताए ।

‘कैयौं उद्योगी व्यापारीको लगानी सुरक्षित गर्ने तथा अतिरिक्त आय गरी रोजगारी सिर्जना गर्ने वातावरण बनेन भनेर हामी अध्यादेश ल्याउँदैछौं । तर, गरिबको छाक काटिएको कुरामा पनि हामी उत्तिकै गम्भीर हुन जरुरी छ । त्यसैले यो क्याबिनेटले एउटा निर्णय गर्नुपर्छ भन्ने मलाई लागेको छ,’ रविको पत्रमा भनिएको छ, ‘सहकारी पीडितको बचत फिर्ता गर्नका लागि फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्ति समेत खोजेर त्यस्ता सम्पत्ति तत्काल रोक्का गरी यथाशीघ्र लिलाम गरेर गरिबको पैसा तिर्न शुरू गर्ने व्यवस्था मिलाउन जरुरी छ ।’

यसका लागि अध्यादेश ‘ड्राफ्ट’ गरिहाल्न रविले दबाब दिएका थिए ।

‘तिर्न चाहने असल नियत भएकाहरूलाई नियन्त्रणमा राखेर आफैं हरहिसाब मिलाउने अवसर दिने व्यवस्था गर्न सकिन्छ,’ रविको पत्रमा भनिएको, ‘त्यसका लागि केही निर्णय गरौं आजै । आजैबाट अध्यादेश ड्राफ्ट गर्ने निर्णय गरौं ।’

रविले दबाब दिएपछि क्याबिनेटले सहकारी पीडितका समस्या सम्बोधन गर्न तत्काल कानूनीसहितका प्रक्रिया शुरू गर्ने निर्णय ग¥यो । बलियो बहुमतका लागि पनि प्रधानमन्त्रीलाई रास्वपाको समर्थन निरन्तर आवश्यक देखिन्छ । त्यसैले प्रचण्ड रविमाथि संसदीय छानबिनका लागि तयार भइसकेको देखिँदैनन् ।

पछिल्लो समय कांग्रेस र एमालेबीच संवाद बढेपछि रविले इलाम २ को उपनिर्वाचनका क्रममा ‘तिकडम गरेर कांग्रेस सत्तामा पुगे पहिलो निर्णयबाटै आफूलाई कारबाही गरे हुन्छ’ भनेका थिए ।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पटक–पटक सरकार बनाउने र भत्काउने खेलले देश अस्थिरतामा जाने बताउँछन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै हाम्रो सभापतिले प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नुभएकाले सरकार आजका दिनसम्म आइपुगेको छ । हामीले मानेको भए त्यतिखेरै भत्किन्थ्यो,’ बुर्लाकोटी भन्छन्, ‘तर हामीले देशमा शान्ति, स्थायित्व र स्थिरता हुन्छ भने सरकारमा रहन्छौं भनेर इमान्दार ढंगले काम गरिरहेका छौं ।’

कांग्रेस–एमाले मिल्ने मिल्न उनको चुनौती छ । ‘कांग्रेस र एमाले मिलेर साना दलको पसल बन्द गर्ने भनेका हुन् भने जनतासमक्ष पुगेर भनुन्,’ बुर्लाकोटीले भने, ‘चेतावनी मात्र दिनु उचित होइन ।’

अन्य साना दल पनि अप्ठ्यारो स्थितिमा प्रधानमन्त्रीसँग बार्गेनिङ र नयाँ समीकरणमा कसरी आफ्नो स्थान सुरक्षित गर्न सकिन्छ भन्नेतिर केन्द्रित देखिएका छन् । १० सीटको नेकपा एस खुलेरै सरकारविरोधी क्रियाकलापमा लागेको छ । केन्द्रदेखि प्रदेशसम्मै आफ्नो स्वार्थ पूरा गर्न उसले प्रधानमन्त्रीमाथि दबाब बढाइरहेको छ । गणितको कठिनाइ देखाउँदै प्रधानमन्त्री प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मलाई दबाबमा राख्ने रणनीतिमा नेकपा एस देखिन्छ ।

उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक सरकार गठनको विकल्पमा समेत कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक संवाद गरिसकेका छन् । तर, कांग्रेस र एमाले मिले आफूहरूको हालत के हुन्छ भन्ने बारेमा समाजवादीले हेक्का नराखेको सोही पार्टीका एक वरिष्ठ नेताले बताए ।

‘सुदूरपश्चिममा आज एउटा निर्णय गर्ने भोलि अर्को निर्णय गर्ने स्थिति देखियो । गणितको जटिलताले हामीलाई मुख्यमन्त्री आएर तत्कालीन लाभजस्तो भएको छ,’ समाजवादीको पदाधिकारी तहका एक नेता भन्छन्, ‘एउटा पोजिसन नबनाई स्वार्थ मात्रै देखाउँदा कांग्रेस र एमाले मिलेको दिन कहाँ पुगिएला भन्नेतर्फ पनि हेक्का राख्नुपर्छ ।’

समाजवादीमात्रै होइन, सत्तामै रहे पनि जसपा र नागरिक उन्मुक्ति पार्टी समेत वैकल्पिक सरकारका लागि जतिखेर पनि तयार हुने अवस्थामा रहेको यी पार्टी निकट स्रोतको दाबी छ । सत्ता र शक्तिको खेलमा सिपालु यादव प्रचण्ड हटे अर्को समीकरणमा लाग्न प्रयासरत रहेको नेताहरू बताउँछन् । केन्द्रीय सत्तामा पनि दबाब बढाउँदै आएको जसपा लुम्बिनीमा मागेजति भागबण्डा नपाएपछि सरकारबाटै फिर्ता भएको छ ।

यता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने कांग्रेस–एमाले मिल्ने कुरा हल्ला मात्र भएको जिकिर गरिन् । ‘राजनीतिमा जे पनि हल्ला चल्छन् । पछिल्लो समीकरण बनेको धेरै भएको छैन, यस्तोमा हल्लाको पछाडि लागेर हुँदैन,’ श्रेष्ठले भनिन्, ‘यस्ता हल्ला नागरिकले पत्याउनु हुँदैन ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ठूला मात्रै होइन, साना दलको दाउ झन् बढी च्याखे थाप्ने खालको रहेको बताउँछन् ।

‘सुदूरपश्चिममा समाजवादीले शर्त राखेर कसरी मुख्यमन्त्री पड्कायो, सबैले देखेका छन् । साना दल झन् सिद्धान्तको राजनीतिबाट टाढा छन्,’ श्रेष्ठले भने, ‘जसलाई जहाँ फाइदा हुन्छ, त्यहाँ जाने हो । कसका विरुद्ध लाग्ने हो, त्यहीँ उभिनेमा साना दल देखिन्छन् ।’

ठूला दलको हिमचिम, साना दलको घुर्की र दबाबबीच प्रधानमन्त्री भने सकसमा परेको नेताहरू बताउँछन् । ‘कांग्रेससँग ठीकठाक गठबन्धन चलेको थियो । तर, हठात् सरकार परिवर्तन हुँदाको दुई महिनामा नै फेरि ठूला दल मिल्छन्, साना दललाई बाइपास गरिन्छ भनेर हल्ला चल्नु राम्रो होइन,’ माओवादीका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले पनि भित्रीरूपमा केही दबाब महसुस पक्कै गर्नुभएको होला, तर बाहिर देखाउनुभएको छैन । यसरी छिटोछिटो समीकरण परिवर्तनमा हामी पनि कतै जिम्मेवार छौं कि भनेर समीक्षा गर्नुपर्छ ।’

माओवादीका ती नेताका अनुसार प्रचण्डले पनि कांग्रेस र एमालेका नेताबीच संवाद हुन थालेको विषयबारे जानकारी पाइसकेका छन् ।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधार कांग्रेसको मात्रै चाहनाभन्दा पनि एमालेले लिने निर्णयमा समीकरणको भविष्य निर्धारण हुने बताउँछन् ।

‘कांग्रेस र एमाले मिल्ने स्थितिमा पुग्नका लागि घनिभूत रूपमा बसेका छन् भन्नेसम्मको हल्ला सुनेका छौं । तर तत्कालै सम्भव हुन केही परिस्थितिले गाह्रो हुन्छ कि भन्ने लाग्छ,’ तुलाधरले भने, ‘हठात सत्ताबाट विमुख गराएकोमा कांग्रेस सभापति शेरबहादुरजीमा चित्त दुखाइ रहेको पाएका छौं । एमालेको कार्यक्रममा पुगेर एकातिर हार्दिकता देखाएकोजस्तो देखियो, अर्कातिर मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । एमाले उतातिर जान लागेको हो भने सरकारको आयु लामो भएन, तर कांग्रेसले चाहेर मात्रै चाहिँ हुँदैन ।’

नेकपा स्थापनाको ७५ वर्ष पुगेको हीरक महोत्सवका दिन (१० वैशाख)मा ललितपुरको गोदावरीमा देउवा र ओलीबीच हार्दिकता देखिएको थियो । दुवैले एकअर्काप्रति सकारात्मक टिप्पणी गरेको विषयले अब कांग्रेस एमाले मिल्दैछन् भन्ने विषयको संकेत गरेको नेताहरू बताउँछन् ।

सोही कार्यक्रममा ओलीले ‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी’ भन्दै सम्बोधन गरेका थिए । देउवाले पनि एमालेसँग सहकार्य गरेर जान तयार रहेको संकेत गरेका थिए । कार्यक्रमका सञ्चालक एमाले महासचिव शंकर पोखरेलले ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीका जेलजीवनका अनन्य मित्र’ भनेर देउवालाई सम्बोधन गरेका थिए ।

यसको तीन दिनपछि बिहीबार पोखरेलले ‘कैलाश सिरोहिया (कान्तिपुरका मालिक)का छोराको विवाह समारोहमा सहभागी हुँदा’ भन्दै देउवा र डा. शशांक कोइरालासँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

फोटोमाथि टिप्पणी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले साना दलको पसलविरुद्ध कांग्रेस–एमाले सरकार बनाउन आग्रह गरेका छन् । कतिले विरोध पनि गरेका छन् । ओलीका विश्वासपात्र मध्येका पोखरेलले पटक–पटक देउवासँग आत्मीयता देखाउनुलाई पनि अर्थपूर्णरूपमा हेरिएको छ ।

कांग्रेस र एमालेभित्र दुई पार्टी मिलेर स्थिरता दिनुपर्ने, नागरिकको निराशालाई चिर्नुपर्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्नेसहितका विषयमा पनि संवाद भइरहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको