
जिम्मेवारी नसम्हाल्ने मन्त्रीको अडान
जनकपुरधाम:मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जसपा नेता सञ्जयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेका साहलाई मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि अरु मन्त्रालय नसम्हाल्ने अडान राखेका साहलाई मुख्यमन्त्रीले वन मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री यादवले ४ वैशाखमा चौथो पटक विश्वासको मत लिनुपूर्व वन मन्त्रालय दिने वचन अनुसार त्यो मन्त्रालय पाउनुपर्ने साहको दावी थियो । त्यसकारण उनले वन मन्त्रालय अस्वीकार गर्दै आएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका रमेशप्रसाद कुर्मीले ४ वैशाखमा नै सरकार छाडेपछि उनले सम्हालेको वन मन्त्रालय खाली भएको थियो ।
६ वैशाखमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दा मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका साह र एकीकृत समाजवादीकी बेची लुंगेलीको मन्त्रालय तोकेका थिएनन् ।
लुंगेलीलाई १२ वैशाखमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका मुख्यमन्त्री यादवले साहलाई आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यता मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले आफूलाई जिम्मेवारी दिएको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्वीकार नगर्ने बताएका छन् ।
अर्थ मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोज कुमार यादवले आज वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरेको छ । साहले आफू पनि प्रदेश प्रमुखको कार्यालयबाट प्रकाशित सूचनाबाट नै जानकारी पाएको बताए ।
‘मैले पनि त्यही सूचनाबाटै जानकारी पाएँ । मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्छ । वन मन्त्रालय म स्वीकार गर्दिनँ ।’ उनले भने ।