जनकपुरधाम:धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले हतियार देखाएर बलजफ्ती कागज बनाएर मन्दिरको जग्ग्गा कब्जा गर्न खोजेको आरोप लगाइएको छ ।

जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी मन्दिरको साबिकको घोडघास गाविसक हालको नगराईन नगरपालिका ५ गंगुली चौरीमा रहेका ८ विग्घा एक कट्ठा सबा चौदह धुर जग्गा गाउँपालिका अध्यक्ष यादवले आफूलाई कुटपिट गरी हतियार देखाएर कागज बनाएर कब्जा गर्न खोजेको मन्दिरका महन्थ अनिल दास वैष्णवले आरोप लगाएको हो ।

सोमवार मन्दिरका महन्थ दासले एक पत्रकार सम्मेलन आयोजना गरी आफू वैशाख १५ गतेका दिन मटिहानी गइरहेको बेला तुल्सियाहीमा आफूलाई अध्यक्ष यादवसहित वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्का लगायतका व्यक्तिले बन्धक बनाएर कुटपिट गरी मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा भयो भनेर किर्ते सम्झौता पत्रमा हतियार देखाएर सहीछाप गराएको बताए ।

उनले भने ‘आफूलाई अध्यक्ष यादवले तुल्सियाहीस्थित दिनेश साहको निजी मन्दिरमा रामजानकी मन्दिरको भगवानको मूर्ति ल्याई पुजारी बनेर बस्ने र रामजानकी मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा गरिदिन भनेपछि आफू नमानन्दा कुटपिट गरी गुण्डागर्दी शैलीमा हतियार देखाएर किर्ते सम्झौता पत्रमा हस्ताक्षर गराएको हो ।’

गंगुलीस्थित मन्दिरको जग्गामा अर्को मन्दिर बनाउने योजना तहत आफूले ४÷५ कट्ठामा पोखरी खनाएको थिए । तर यसैबीचमा गाउँपालिका अध्यक्ष यादवले गुण्डागर्दीशैलीमा जग्गा कब्जा गर्न खोज्यो । एउटा जनप्रतिनिधि जस्ता व्यक्ति गुण्डागर्दीशैलीमा हतियार देखाएर मन्दिरको जग्गा कब्जा गर्न खोज्नु भनेको अपराधिक कार्यप्रति सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्रकार सम्मेलन मार्फत महन्थ दासले गराए ।

पत्रकार सम्मेलनमा उपलब्ध गराइएको सम्झौता पत्रमा तुल्सियाही जब्दी ५ मा रहेको श्रीरामजानकी धनुषधारी मन्दिरको मूर्ति एक हप्ता भित्र ल्याएर तुल्सियाहीवासीको दिई सो मन्दिरको जग्गा र जग्गामा खनाएको पोखरी भरी पहिलाको अवस्थामा ल्याई तुल्सियाही जब्दीवासीलाई फिर्ता गरि दिनेछौं । आजदेखि श्रीरामजानकी धनुषधारी मन्दिर र मन्दिर अन्तर्गत पर्ने जग्गामा मेरो कुनै प्रकारको हक हिस्सा दाबी गर्नेछैनौं । कहींकतै उजुरबाजुर गर्नेछैनौं, गरे भने यही सम्झौता आधारमा मेरो उजुरी बदर गरिदिनु होला भनी खुशीराजीसँग तपसिलका पदाधिकारीको रोहबरमा सम्झौतामा सही छाप गरेका छौं ।

सो सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष जयकुमार, वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्का तपसिलको पदाधिकारीको रुपमा राखिएको छ ।

जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी भगवान मन्दिरको गंगुली चौरमा कि.नं. १५१ को ६ विग्घा ८ कट्ठा साढे १२ धुर र कि.नं. २२५ को १ विग्घा १३ कट्ठा २ धुर गरी दुई वटा टुक्रा रहेका ती जग्गामा गाउँपालिका अध्यक्ष यादवले आँखा लगाएका छन् । मौखिक रुपमा मागेपछि नदिंदा कुटपिट गरी हतियार देखाएर कागज बनाई कब्जा गर्न खोजेको महन्थ दासको भनाईले पुष्टि हुन्छ ।

उता गाउँपालिका अध्यक्ष जयकुमार यादवले पनि आफूले सम्झौता गराएको स्वीकार गरे । उनले भने आफूले जनप्रतिनिधिको नाताले सम्झौता गराएको हो, तर हतियार देखाएर होइन तुल्सीयाही जब्दीवासीको माग अनुसार तिनीहरुको उपस्थितिमा मन्दिरको मूर्ति फिर्ता दिई जग्गा तुल्सियाही जब्दीवासीको फिर्ता गर्ने भन्ने सम्झौता गराएको हो ।

लालपुर्जामा तुल्सियाही जब्दी उल्लेख रहेको कारण त्यो जग्गामा यहाँका गाउँवासीको रहेको दाबी उनले गरे । बलजफ्ती मन्दिरको जग्गा कब्जा गर्नु कतिको जायज छ भन्ने जिज्ञासामा अध्यक्ष यादवले पत्रकारमाथि नै जाई लाग्दै देखाइ दिन्छौ, जे लेख्नु छ लेख भन्ने धम्कीपूर्ण भाषा समेत प्रयोग गरे ।

जग्गाका लालपूर्जा अनुसार जग्गाधनी मटिहानी गुठी संस्थान अन्तर्गत श्रीरामजानकी धनुषधारी भगवान मन्दिर रहेको छ । जग्गाधनीको बाजे तुल्सियाही मन्दिरका पुजारी र जग्गाधनीको बाजे÷ससुराको नाममा श्यामनारायण दास वैष्णव उल्लेख रहेको छ । कुनै समयमा तुल्सियाही जब्दीमा रहेको एक मन्दिर बाढीमा कटान भएको थियो । ती मन्दिरको पूजारी श्यामनारायण दास रहेको थियो । मन्दिर कटान भएपछि उनी जनकपुरधाम वडा नम्बर १ मा सोही नामको मन्दिर स्थापना गरी बसेको थियो । हाल ती मन्दिरका महन्थ श्यामनारायण दासको चेला अनिल दास वैष्णव रहेका छन् ।

महन्थ दासले जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका अध्यक्ष यादव, वडाधयक्ष महतो, वडा सदस्य ठाकुर र नगर प्रहरी खड्का विरुद्ध जिउधनको सुरक्षा कायम गरी बलजफ्ती गराइएको कागज गराई पाउँ भनी उजुरी दर्ता गराएको छ । उजुरी दर्ता गराए लगतै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई विपक्षीलाई झिकाई घटना बुझेर निक्र्यौल गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको