
काठमाडौँ:आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार हुनुभएको एएफपीका पत्रकारले बताएका छन् ।
एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुग्नुभएको थियो । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउनका लागि काम गर्न उहाँले प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गर्नुभएको थियो ।
सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन् । मस्क दिउँसो एक बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार हुनुभएको थियो ।
ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाहरूका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्नका लागि सरकारको स्वीकृति नजिक पुगेको छ ।
बिवाइडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ । यद्यपि उसले कडा तथ्याङ्क र गोपनीय कानूनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाहरूका साथ आफ्नो बिक्रीलाई बढाउन कोसिस गरिरहेको छ ।
चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सिएएएम) ले सन् २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ ।
“तीमध्ये छ कम्पनी (बिवाइडी, ली अटो, लोटस, होजोन अटो, टेस्ला र एनआइओ) का ७६ मोडलले अटोमोटिभ तथ्याङ्क सुरक्षाका चार अनुपालन आवश्यकताहरू पूरा गर्दछन्”, सिएएएमले विज्ञप्तिमा भनेको छ ।