मंगलबार मात्रै सप्तरीमा २ सय, सर्लाहीमा ७ र पर्सामा ४ घर जले

जनकपुरधाम:महोत्तरीको मटिहानीमा १ सय बढी घर आगलागीमा परेर जलेर नष्ट भएको एक साता नबित्दै सप्तरीमा भिषण आगलागी भएको छ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको हो । महादेवा गाउँपालिका–१ चिम्टीमा मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको थिएन ।

आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीमा परेर करोडौंको क्षति भएको भएपनि यकिन विवरण आउन सकेको छैन ।

तिब्र गतिमा आएको हुरीपश्चात स्थानीय शत्रुधन यादवको घरबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीले गाउँ नै स्वाहा भएको हो । दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

हनुमाननगर कंकालिनी, राजविराज, शम्भुनाथ नगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास समाचार तयार पार्दासम्म भईरहेको थियो । आगलागीमा १ करोडभन्दा बढीको क्षती भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।

सर्लाहीमा ७ घर जलेर नष्ट

सर्लाहीको धनकौल गाउँपालिका २ मा भएको आगलागीमा सातवटा घर जलेर नष्ट भएका छन् ।

धनकौल २ का सुरेश मण्डलको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले उहाँसहित छरछिमेकी सात जनाको घर जलेर नष्ट भएको हो । आगलागीबाट सुरेश मण्डल, गणेश मण्डल, शिवचन्द्र मण्डल, शङ्कर मण्डल, रामप्रवेश मण्डल, रामपृत मण्डल र शिवजी मण्डलको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मध्यान्ह तीव्र गतिमा हावा चलेका बेला भएको आगलागीले फुसको छानो भएका घर एक छिनमा जलेर खरानी भएका स्थानीयले बताएका छन् । आगलागी गाउँले र सुरक्षाकर्मी मिलेर मोटर तथा डोलले पानी हालेर निभाएको प्रहरीले जनाएको छ ।

आगलागी निभाउन रौतहटको गौरबाट दमकल मगाइएको थियो। प्रहरी र गाउँले भएर आगो निभाएकाले गौरदेखि मगाइएको दमकल बाटोबाटै फर्काइयो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले आगलागीबाट १५ लाख रुपियाँ भन्दा बढीको क्षति भएको जानकारी दिए । आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवार बिचल्लीमा परेका छन् ।

पर्सामा ४ घर जल्यो

उता पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुरमा आगलागी हुँदा ४ वटा घर जलेका छन् । स्थानिय रहमत देवान, अमजत देवान, सम्साद देवान र रजाक देवानको फुसको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवल्दार राम कुमार साहले जानकारी दिए ।

उनकाअनुसार आगलागीमा घर भित्र रहेको धान, चामल, गहुँ, दाल, भाँडाबर्तन, लत्ता कपडा लगायततका सामग्रीहरु जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २७ लाख बराबरको क्षति भएको पिडितले बताएका छन् ।

विद्युतीय तार सर्किट भएर लागेको आगो पोखरिया नगरपालिकाबाट पुगेको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस अघि गत वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछीमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएको थियो । सो आगलागीबाट समेत करोडौँको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको