प्रदेश र संघीय सरकार राहतको सट्टा निरिक्षणमै समिति

जनकपुरधाम:महोत्तरीको मटिहानीमा आगलगी भएको एक साता बितिसकेपनि सरकारले तिनीहरुको व्यवस्थापनका लागि अहिलेसम्म कुनै राहत प्याकेज व्यवस्था गरेको छैन ।

गएको बुधबार दिउँसो १ बजे भएको आगलगीले टोलको १०३ घर जलेर नष्ट भएको थियो । सरकारद्वारा राहत प्याकेजको व्यवस्था हुन नसक्दा ४३ पीडितहरु अहिले ४३ डिग्रीको गर्मीमा त्रिपालमुनि बसेर दिन बिताइरहेका छन् ।

पछिहारी टोलकी सुनरमती देबीले आगोले घर खरानी बनाएपछि आफूहरुलाई कहाँ बस्ने, अब कसरी घर बनाउँने भन्ने चिन्ताले सताइरहेको दुखेसो सुनाउंछिन् ।

उनले भन्छिन्, ‘घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो, कपडासमेत निकाल्न सकिएन । कमाएर खाने परिवार हो हाम्रो तर अब घर जलिसकेपछि कमाउन सकिएको छैन । २४ घण्टा अब कसरी घर बनाउने चिन्ता लागि रहेको छ । किनकी हाम्रो अवस्था अहिले घर बनाइहाल्ने छैन ।’

खुल्ला आकाशमुनि यो गर्मीमा बस्नु पर्ला भनेर हामीले सपनामा पनि नसोचेको उनी सुनाउँछिन । तर यो कहिलेसम्म बसिरहने थाहा छैन ? उनको प्रश्न छ । आगोले २ बाख्रा,अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको उनी बताउँछिन् ।

सुनरमती देबीको घरबाट करिब ५० मिटर अगाडि प्रबीण खातुनको घर छ । उनकै घरको छेउमा रहेको परालबाट सल्केको आगोले बस्तीलाई खरानीको थुप्रो बनाएको थियो । उनका अनुसार आफ्नो घरमा सुरुमा आगलगी हुँदा बल्लतल्ल भागेर ज्यान बचाए । सोही टोलकी सिलिया देबीले आफू झन ठूलो समस्या परेको सुनाउँछिन् ।

चर्पी र बत्तीको समस्या

पछिहारी टोलमा पीडितहरुलाई खाना र बस्ने घरको मात्रै समस्या छैन । साढे ६ घण्टा लागेको आगोले त्यस बस्तीका बिजुलीको तार पनि जलाएर नष्ट गरेको छ । बस्तीको बिजुली तार जलेपछि स्थानीयलाई समस्या आएको हो । जसका कारण अध्याँरोमा बास बस्नु परेको पीडितहरुको गुनासो छ । जिल्ला महिला सञ्जाल महोत्तरीकी अध्यक्ष इसरागन यादवले अहिले त यो बस्तीमा चर्पी र बिजुलीको भएको बताउंछन् ।

बस्तीका महिलाहरुले यादवलाई गुनासो गरेकी छन,‘ आगलगीको अवलोकन गर्न धेरै आइरहन्छन्, बस्तीमा शौचालय छैन । जसकाकारण पिसाब फेर्न पनि कठिनाइ भइरहेको छ, रातीमा बत्ती नहुँदा सर्प टोक्ने चिन्ता पनि उत्तिकै महिलाहरुमा छ ।’ उनका अनुसार खासगरी ७ जना गर्भवती महिलाहरु छन् । उनीहरु शौचालय तथा बत्ती नहुँदा बढी समस्यामा परेको बताइरहेकी छन् ।

पिडीतलाई गाँस र बासको समस्या

पछिहारी बस्तीका ५७० जना प्रत्यक्षरुपमा खाद्यान्न प्रभावित भएको महोत्तरी प्रहरीको तथ्यांक छ । महोत्तरी प्रहरी प्रमुख नकुल पोखरेलका अनुसार आगलगीले १०३ वटा घर जलेर नष्ट हुँदा ५७० जना प्रभावित बनेका छन् । उनीहरुलाई गाँस, बाँस, कपास सबैको समस्या भएको छ । प्रहरीले लिएको विवरण अनुसार १ करोड ६२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रमुख पोखरेल बताउँछन् ।

आगलगीका कारण एक सातादेखि टन्टलापुर घाममा बस्न बाध्य रहेको पछिहारी बस्तीमा प्रदेश सरकारबाट दिनहुँ कोही न कोही अवलोकन गरिरहेका हुन्छन् । तर सधै अवलोकन गरेपनि प्रदेश सरकारले पीडितहरुको राहतका लागि ठोस प्याकेज घोषणा गर्न सकेको छैन ।

प्रदेशका भौतिक मन्त्री सरोज यादवले केही प्राविधिक कारणले ठोस प्याकेजको घोषणामा सरकारलाई कठिनाइ भएको बताए । उनले भने,‘ आगलगी भएको बस्ती गुठीको जग्गा भएको कारण हामीले घर बनाउँन मिल्दैन । घर बनाउने सवालमा हामी अब बस्ने क्याबिनेटमा छलफल गरे केही निर्णय लिन्छौं । तर तत्कालको लागि गृह मन्त्रालयबाट प्रति परिवार १०÷१० हजार रुपैयाँ दिने तयारी छ ।’

प्रदेश सरकारले विपद् व्यवस्थापनबाट १० हजार रुपैया दिने भनिएपनि यकिन तथ्यांक र व्यक्ति पहिचान हुन नसकेको कारण हालसम्म वितरण गर्न नसकिएको उनको भनाई छ । हुनत संघीय सरकारबाट एक निरिक्षण टोली बनाइए पनि हालसम्म केही गर्न सकेको छैन । घरबारको त कुरै छाडौं प्रदेश र संघीय सरकारले खान बस्ने सहितका कुनै राहत व्यवस्था गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको