जनकपुरधाम:महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ ।

मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन् ।

‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै नष्ट भएकाले बिहान–बेलुका गरी आठ सयभन्दा बढीलाई दैनिक खाना खुवाइरहेका छौँ । हामीलाई नेपाली सेनाका जवानले समेत सहयोग गर्दे आएकाले खाना खुवाउन सहज भइरहेको छ,’ हाम्रो टिम नेपालका संयोजक विमल पन्तले भने ।

यसबाहेक बालबालिकाको विद्यालयको ड्रेस र कापी–कलमसमेत नहुँदा विद्यालय जान नपाएको र खासगरी लुगाकपडा नहुँदा समस्या थपिँदै गएको उनले बताएका हुन् ।

जरलहवागाछी बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्युबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेका थिए । आगलागीमा परेर बस्तीका ५० जति अन्य घरमा समेत क्षति पुगेको, पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएको नगरपालिकाले जनाएको छ ।

आगो निभाएलगत्तै मटिहानी नगरपालिकालगायत अन्य संघसंस्था र व्यक्तिले खाना र ओत लाग्न त्रिपालको व्यवस्था गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको