जनकपुरधाम:सन् २०१७ देखि २०२२ सम्म ५ वर्षको अवधीमा देशैभर १ लाख ८१ हजार ३९८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यो संख्या सुरक्षित गर्भपतन गराउन कानुनी मान्यता प्राप्त संस्था मेरि स्टोप्स सेन्टरमा सुरक्षित गर्भपतन गराउनेको मात्रै हो ।
मेरी स्टोप्स सेन्टरकी सञ्चार प्रबन्धक तानिया राणाले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकअनुसार मेडिकल एबर्शन गर्नेको संख्या ७७ हजार ५९६ छ भने सर्जिकल एबर्शन गर्नेको संख्या १ लाख ३ हजार ८ सय २ छ ।
मेरी स्टोप्स सेन्टरले सेवा प्रवाह गर्ने देशैभरका सेवाप्रदायक संस्थामध्ये काठमाण्डौसहित सुर्खेत, कोहलपुर डुम्रे, दाङ्, भैरहवा, नारायणघाट, वीरगञ्ज, इटहरी र झापाबाट सबैभन्दा धेरैले सुरक्षित गर्भपतन गराएका छन् ।
यी क्षेत्रमा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या अरु क्षेत्रको तुलनामा धेरै भएपनि जनसंख्याका हिसाबले भने सन्तुष्ट हुने आधार नरहेको राणाको भनाई छ । यि सबै सेवाप्रदायक संस्थामा २ वर्षको अवधीमा २५ वर्ष भन्दा माथिका धेरै आएका छन् ।
सन् २०२१ र २०२२ मा २५ वर्ष र सो भन्दा माथिका १ लाख ४४ हजार ७८० जनाले सेवा लिएका छन् भने २० देखि २४ वर्ष उमेर समूहका ३४ हजार ७५९ जनाले सेवा लिएका छन् । १५ देखि १९ वर्ष उमेर समूहका ७ हजार ९१२ जनाले सेवा लिएको राणाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य विभागकको तथ्यांक अनुसार २०७८ श्रावणदेखि २०७९ असारसम्म देशैभर ९० हजार ७३३ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । जसमध्ये २० वर्ष भन्दा मुनीका ६ हजार ६४५ जना छन् । २० वर्ष भन्दा मुनीकै औषधीमार्फत सुरक्षित गर्भपतन गराउनेको संख्या ४ हजार ६२ छ भने शल्यक्रियामार्फत २ हजार ५८३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । २० वर्ष र सो भन्दा माथीका ५८ हजार २८९ जनाले औषधीमार्फत सुरक्षित तवरले गर्भपतन गराउँदा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या भने २५ हजार ७९९ छ ।
जथाभावी रुपमा औषधी खाएर अनि जटिल भएपछि अस्पताल आउने अवस्थाकोे अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये अधिकांश बाहिरैबाट औषधी खाएर अवस्था जटिल भएपछि आउने गरेका छन् ।