२० को मृत्यु, साढे ४४ करोडको क्षति, ५६१ घर जलेर नष्ट

जनकपुरधाम:चालु आर्थिक वर्ष २०८०÷०८१ मा मधेश प्रदेशमा १२ सय वटा आगलागीका घटनाहरु भएका छन् । गत साउनदेखि यहि बैशाख १५ गतेसम्म प्रदेशका ८ वटै जिल्लामा १ हजार १सय ९९ वटा आगलागीका घटना भएको जनाइएको छ ।

मधेश प्रदेशका ८ जिल्लाका फरकफरक स्थानहरुमा भएको आगलागीका कारण २० जना मानिसले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो आगलागीबाट प्रदेशमा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ८१ पक्की घर, ४८० कच्ची घर र २२७ वटा गोठहरु जलेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जनाए । विभिन्न स्थानहरुमा भएका आगलागीका कारण २०३ चौपाया भएको र ११२ वटा चौपाया घाइते भएको प्रहरीको अभिलेख छ ।

कुन जिल्लामा कति ?

प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना सिरहा जिल्लामा भएको छ भने सबैभन्दा कम सर्लाही जिल्लामा भएको छ । सिरहामा २१६ वटा आगलागीका घटना भएका छन् भने सर्लाहीमा १०४ आगलागीका घटना भएको प्रहरीको अभिलेख छ ।

सिरहा जिल्लामा आगलागीमा परेर ४ जना पुरुष र १ महिला गरी ५ जनाले ज्यान गुमाएका छन् । भने १८ महिला, ६ पुरुष र ४ बालबालिकासहित गरी २८ जना घाइते भएका छन् भने ८२ घर र ३८ गोठ जल्दा ८ करोड २० लाख ४० हजार रुपैँया बराबरको क्षती भएको प्रहरीले जनायो ।

सर्लाहीमा आगलागीमा परेर १ जना मानिसको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सर्लाहीमा १०० घरमा क्षती पुग्दा ३ करोड ४१ लाख ७५ हजार ४०० रुपैँया बराबरको क्षती भएको प्रहरी बताउँछन् ।

सप्तरी जिल्लामा १७२ वटा आगलागीका घटनामा १ जना मानिसको मृत्यु र २४ चौपाया घाइते भएका छन् भने ५६ घर र २५ गोठ जलेका छन् । उक्त जिल्लामा ५ करोड ४१ लाख २३ हजार मूल्य बराबरको क्षती पुगेको छ ।

प्रदेशको राजधानी धनुषा जिल्लामै १४५ वटा आगलागीका घटनामा हुँदा ६ जनाको मृत्यु २३ जना मानिस घाइते भए । यस्तै ३ चौपायाको जलेर मृत्यु हुँदा ११ घाइते भएका छन् । २२ घर र ३ गोठ जलेर नष्ट हुँदा जिल्लामा ८ करोड ४९ लाख १८ हजार ७०० बराबरको क्षती भएको प्रहरीको तथ्यांक छ ।

यसैगरी महोत्तरीमा १३० वटा आगलागी हुँदा १ जना मानिसको जलेर निधन भएको छ । आगोले ३२ चौपायाको मृत्यु र ८ चौपाया घाइते भए । त्यस्तै १२० घर र ७१ गोठ जल्दा ४ करोड १४ लाख १६ हजार ३०० मूल्यको क्षती भयो ।

त्यस्तै रौतहटमा १८३ आगालागीका घटनाबाट ३ जनाको मृत्यु भएको छ भने ३ जना बालबालिकासहित १८ जना घाइते भएका छन् । रौतहटमा ४४ चौपायाको जलेर मर्दा २० चौपाया घाइते भएका छन् । यस्तै ४६ घर र ३८ गोठ जलेका छन् । जिल्लामा ४ करोड ९८ लाख १९ हजार ७३२ रुपैँयाको क्षती पुगेको छ ।

बारामा १२१ वटा आगलागीका घटनाबाट २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका प्रहरीको तथ्याङ्क छ । उक्त जिल्लामा ५४ वठा पशुको जलेर मृत्यु भएको र १६ घाइते भएका छन् । ८४ घर र ३८ गोठमा क्षती पुग्दा ४ करोड १७ लाख ८ हजार ५०० मूल्यको क्षती पुगेको छ ।

पर्सा जिल्लामा १२८ आगलागीका घटनाबाट १ जनाको मृत्यु भएको छ । यस्तै आगोमा ६ जना बालबालिकासहित १३ जना मानिस जलेर घाइते भएका छन् । आगलागीबाट ५७ पशुको जलेर मृत्यु हुँदा २ वटा घाइते भएका छन् । ५१ घर र १४ गोठ आगोको चपेटामा परेर जलेका छन् । जिल्लामा ५ करोड ७२ लाख ६२ हजार ८०० रुपैँया बराबरको क्षती भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस सम्बन्धमा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजेट अभाव भएकाले आगलागीको पूर्वतयारीमा प्रदेश सरकार चुकेको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘साथै जिल्ला प्रशशासन कार्यालयहरु हाम्रो मातहतमा छैनन्, जसकारण सूचना पनि हामीलाई ढिलैगरी आउँछ, त्यसकारण चाहिएको समयमा राहत प्याकेजहरु घोषणा गर्न सकिरहेका छैनौँ । तर त्यसको बाबजुत पनि घटनाको जानकारी पाएलगत्तै सुरक्षा निकायसहितका अन्य निकायहरुलाई समेत राहत वितरण जुट्न तत्काल निर्देशन दिंद आएका छौं ।’

आगलागीका कारण प्रदेशमा १० महिनाभित्र करिब आधा अर्ब बराबरको धनमाल जलेर खरानी भएको तथ्याङ्क छ ।

प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८ वटै जिल्लामा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ ।

प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ३ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४ करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ ।

आगलागीका घटना बढ्नुका कारण

प्रदेशका अधिकांश जिल्लामा आगलागीको घटना भएको छ । दिनहुँजसो कहीँ न कहीँ आगलागीका घटना भइरहेका छन् ।

एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी प्रवक्ता बोहोराका अनुसार मधेस प्रदेशमा ह्वात्तै गर्मी बढ्दै गएको छ, तालो हावाहुरी पनि चलिरहेको छ । यस कारण पछिल्लो समय आगलागीका घटना बढ्न थालेको उनको विश्लेषण छ ।

उनका अनुसार मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन् । प्राविधिक गडबडी र मानवीय लापरबाहीका कारण आगलागीका घटना भइरहेको उनले बताए ।

बोहोरा भन्छन्, ‘प्राविधिक गडबडीमा इलेक्ट्रिक सर्टलाई लिन सकिन्छ । जसलाई टेकनिकल इरर भनिन्छ । अर्को हो मान्छेका गल्तीका कारण । यसमा मान्छेले जथाभावी चुरोट खाएर फ्यालदिने, आगो बालेर लापरबाही गर्ने जस्ता गतिविधि पर्छन् ।’

जेसुकै कारणले भए पनि यो गम्भीर विषय रहेकाले पछिल्लो समय प्रदेश प्रहरीले जनचेतनामूलक काम गर्न मातहतका निकायलाई निर्देशन दिएको उनी बताउँछन् । उनका अनुसार सामुदायिक प्रहरी कार्यक्रममार्फत प्रहरीले सूचनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

के गर्दैछ प्रदेश सरकार ?

आगलागीका घटनाले प्रदेश आक्रान्त बनिरहँदा प्रदेश सरकार भने यसको नियन्त्रण तथा न्यूनीकरणमा खासै तदारुकताका साथ अघि बढ्न सकेको छैन ।

आगलागी प्रभावितका लागि समेत प्रदेश सरकारले राहत उपलब्ध गराउन सकिरहेको छैन । प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरू आगलागी भएको क्षेत्रमा निरीक्षणका लागि पुगे पनि राहत उपलब्ध गराउन उदासीन देखिएको छ ।

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी आगलागी न्यूनीकरणका लागि पूर्वतयारीमा प्रदेश सरकार चुकेको स्वीकार गर्दछन् ।

उनका अनुसार मन्त्रालयमा बजेट अभाव भएकाले यस्ता कार्यक्रम सञ्चालन गर्न नसकिएको हो । उनी भन्छन्, ‘योसँगै हामीलाई घटनाबारे सूचनाको अभाव छ । जिल्ला प्रशासन कार्यालयहरू हाम्रो मातहतमा नहुँदा उत्ताबाट सिधै हामीलाई सूचना आउँदैन । ढिलैगरी सूचना आउँछ, यही कारण राहत प्याकेजहरू घोषणा गर्न सकिरहेका छैनौँ ।’

तर त्यसका बाबजुद पनि घटनाको जानकारी पाएलगत्तै सुरक्षा निकायसहितका अन्य निकायहरूलाई उद्धार तथा राहत वितरणमा जुट्न तत्काल निर्देशन दिने गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको