जनकपुरधाम:मर्यादित काम, श्रमिकको सम्मान,हाम्रो अभियान’ भन्ने नाराकासाथ बुधबार एक सय ३५ औँ विश्व मजदुर दिवस विश्वभरिमा मनाइएको छ । बुधबार मजदुर दिवस मनाइएको समयमा महोत्तरीस्थित निगौल गाई गौशालाका मजदुरहरू महिनौदेखि तलब बिना काम गर्न बाध्य छन् ।

गौशाला नगरपालिका – ३ मा अवस्थित निगौल गाई गौशालामा कार्यरत १६ जना कर्मचारीहरू पुस महिनादेखि तलब पाएका छैनन् । राष्ट्रिय सहकारी वोर्डमार्फत सञ्‍चालित निगौल गाई गौशालाको कार्यालयमा काम गर्ने मजदुरदेखि कर्मचारीहरू तलब नपाइ पनि दिनहुँ गाईको सेवामा तत्लिन रहेको पाइएको छ ।

राष्ट्रिय सहकारी वोर्डले समयमा तलब नपठाउँदा कर्मचारीहरू तलब पाउन नसकेको निमित कार्यालय प्रमुख वीरबहादुर चौधरीले स्वीकारेका छन् । आफुले वोर्डमा बारम्बार तलब खुवाउनका लागि सम्बन्धित निकायमा जानकारी गराउँदा समेत कुनै सुनवाइ नभएपछि यस्तो अवस्थाको सिर्जना भएको चौधरीको भनाइ रहेको छ ।

बोर्डले उल्टै बाँकी बक्यौता उठाएर तलब खुवाउन निर्देशन दिएको तर यहाँ ती पैंसाहरू उठाउन नसकेकोले तलव खुवाउन नसकेको चौधरीले बताए । प्रतिमहिना ३ लाख ४३ हजार ३८८ रुपैयाँका दरले कामदार कर्मचारीहरूको तलब शीर्षकमा रकम भुक्तानी भइरहेको कार्यालय स्रोतले जनाएको छ ।

अहिले पुसयता कर्मचारीहरूलाई तिर्नुपर्ने रकम १३ लाख ७३ हजार ५५२ रुपैयाँ रहेको कार्यालयका लेखापाल रोहित कर्णले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको