जनकपुरधाम:पर्साको ठोरी २ मा रहेको अमृतधारा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याइएको छ । कर्मचारी अभावमा लामो समयदेखि बन्द रहेको सो छोटी भन्सारको एक कार्यक्रमका बीच बुधबार भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रिबन काटेर पुनः सुचारु गरेकी हुन् ।

पर्साको सबैभन्दा पश्चिममा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब ६ वर्षअघि तयार पारिएको भएपनि कर्मचारी नहुँदा राजस्व चुहावट हुँदै आएको थियो ।बिरगंज भन्सार कार्यालय मातहतको सो छोटी भन्सार सन्चालन नहुँदा ठोरी र विशेषगरी चितवनको माडीका जनतालाई सास्ती हुने गरेको थियो ।

ठोरीसंग सिमाना जोडिएको भारततर्फको भिखना ठोरीमा भन्सार कार्यालय नभएपनि एकतर्फी रुपमा नेपालमा सो भन्सार कार्यालय सन्चालनमा आएको हो । विशेषगरी भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान ठोरी भएर आउने गरेको भएपनि भन्सार नहुँदा स्थानीयबासीलाई समस्या हुने गरेको थियो ।

भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने बताइएको छ । यस्तै ठोरी भएर प्रवेश गर्ने सवारी साधनलाई नेपालमा भन्सार गर्न समेत बिरगंज नै पुग्नुपर्ने बाध्यता पनि अब हट्ने भएको छ । वर्षमा ३० दिनसम्म भारतीय सवारीलाई अस्थायी आवतजावत गर्न तथा एकपटकमा १० हजारसम्म घरायसी प्रयोजनको सामानमा भन्सार तिर्न सहज हुनेछ ।

भन्सार कार्यालयको उद्घाटन गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले छोटी भन्सारको निरन्तरताको निमित्त ठोरीका जनप्रतिनिधि र स्थानीयको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।

सो अवसरमा ठोरी गापाका अध्यक्ष लाल बहादुर श्रेष्ठले भन्सार कार्यालय सन्चालना पहल गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै पालिकाको तर्फबाट भन्सार कार्यालयलाई सम्पुर्ण सहयोग रहने बताउंदै भन्सारकै कारण स्थानीयलाई दैनिक उपभोग्य सामान ल्याउन सास्ती हुन नहुनेमा सबै सजग रहनुपर्नेमा जोड दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरप्रमुख तारा कुमारी काजी महत्तो, भन्सार विभाग प्रमुख ढुण्डीराज निरौला लगायतले मन्तव्य व्यक्त गर्दै छोटी भन्सारको दिगोपनाको निमित्त स्थानीय जनप्रतिनिधि , स्थानीयबासीले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको