जनकपुरधाम:जनकपुरधाममा आजबाट हुने अन्तर प्रदेश स्तरीय सहिद कप २०८१ टि–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आजबाट हुने प्रतियोगितामा सात प्रदेशका अतिरिक्त एक वटा आयोजक टिम गरेर ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । मधेश प्रदेश सरकारको आयोजनामा सहिदहरूको सम्मानका लागि हुन लागेको प्रतियोगिता वैशाख २० गतेदेखि २८ गतेसम्म चल्ने छ ।

बिहीबार हुने उद्घाटन खेलमा मधेस प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने र उद्घाटन खेल बिहान ११:०० बजेदेखि हुने आयोजकले जनाएको छ ।

यस्तै, दोस्रो खेल मधेस र गण्डकी प्रदेशबीच वैशाख २१ गते शुक्रबार बिहान साढे ८ बजेदेखि र दिउँसो १ बजेदेखि कर्णाली प्रदेश र कोशी प्रदेशबीच हुने भएको छ ।

यसैगरी वैशाख २२ गते शनिबार बिहान साढे ८ बजेदेखि मधेस र कर्णाली, दिउँसो १:०० बजेदेखि गण्डकी र कोशीबीच, वैशाख २३ गते आइतबार बिहान साढे ८ बजेदेखि कर्णाली र गण्डकीबीच खेल हुनेछ भने दिउँसो १:०० बजे बाग्मती र लुम्बिनी प्रदेशबीच खेल हुने खेल तालिका रहेको छ ।

वैशाख २४ गते सोमबार बिहान साढे ८ बजे सुदूरपश्चिम र लुम्बिनीबीच खेल हुनेछ भने जनकपुर ११ र बाग्मती प्रदेशबीच दिउँसो १ बजे खेल हुने तालिका छ । २५ गते मङ्गलवार सुदूरपश्चिम र बाग्मती प्रदेशबीच बिहान साढे ८ बजे र दिउँसो १ बजे लुम्बिनी र जनकपुर ११ बीच दिउँसो १:०० बजेदेखि खेल हुनेछ ।

वैशाख २६ गते बुधबार बिहान साढे ८ बजे जनकपुर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । यस्तै, वैशाख २७ गते बिहीबार दुई वटा सेमिफाइनल र २८ गते फाइनल खेल साढे १२ बजेदेखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने टिमलाई २ लाख ११ नगद, कप, पदक तथा प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ११ हजार नगद, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको