भारतलाई बक्यौता रकम नतिर्दा इन्टरनेट सेवाको लाईन काटियो

जनकपुरधाम:सरकारले ब्याण्डविथ वापतको बक्यौता रकम भारतलाई नतिरेको कारण सूचना तथा सञ्चारप्रविधि दिवसको दिन नै देशभरि इन्टरनेट सेवा डाउन भएको छ ।

बिहीबार अपराह्न एकाएक देशका अधिकांश स्थानहरूमा इन्टरनेट समस्या आएको प्रयोगकर्ताहरूले बताएका छन् । वर्ल्डलिङ्क, भायानेट, सुबिसुलगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको देशभरका इन्टरनेट सेवा डाउन अर्थात् निकै सुस्त गतिमा चलेको छ ।

ब्यान्डविथबापतको रकम भुक्तानी नभएपछि भारतीय दूरसञ्चार अपस्ट्रिम सेवा प्रदायक कम्पनी एयरटेलले लिङ्क काटिदिएको कारण अपराह्न ४ बजेपछि नै इन्टरनेट सेवा बन्द भएको छ । अन्य २० प्रतिशत टाटा सहितका अन्य कम्पनीबाट आयात गरिएका सहायक व्याण्डविथबाट सुस्त गतिमा चलिरहेको छ । एयरटेललाई ३ अर्बभन्दा बढी रकम बक्यौता तिर्न बांकी रहेको छ ।

एयरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएको खण्डमा इन्टरनेट लिङ्क नै काटिदिने चेतावनी पटक पटक नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई दिंदै आइरहेका थिए । प्रमुख अन्तर्राष्ट्रिय ब्यान्डविथको नेटवर्क नै काटिएको र सहायक नेटवर्कबाट सीमित मात्रामा ब्यान्डविथ आइरहेको जनाइएको छ ।

नेपालका इन्टरनेट सेवा प्रदायक संस्थाहरू अधिकांशले रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको शुल्क विगत १० आर्थिक वर्षदेखि राज्यलाई नबुझाएको पाइएपछि सञ्चार मन्त्रालयले सो रकम भुक्तानी गर्न उनीहरूलाई ताकेता गरेको थियो । राजश्व नबुझाउंदा सरकारले तिनीहरुको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ ।

जसका कारण सेवा प्रदायकले एयरटेल, टाटा लगायतका भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् । हुनत सेवा प्रदायक कम्पनीहरुले सरकारले विदेश मुद्रा सटही नगर्दा राजश्व बुझाउन नसकिएको भनी पन्छिने प्रयास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको