जनकपुरधाम:पाहुना टोली वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी२० शृंखला गुमाएको छ ।
बिहीबार भएको शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा भएको शृंखला एक खेलअगावै गुमाएको हो ।
पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’ले ३–१ ले जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ ।
पहिलो खेलमा ४ विकेटले जित निकालेको नेपालले त्यसयता लगातार तीन खेलमा पराजित भएको छ । शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । शृंखलाको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ ।
वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी समान १९ रन बनाउँदा क्याच आउट हुन पुगे । सोमपाल कामी १० रन बनाउँदा आउट भए ।
ओपनर आशिफ शेख शुन्य र कुशल भुर्तेल १ रनमा बोल्ड आउट भए । कुशल मल्लले ४ रन बनाउँदा क्याच आउट भए । प्रतिश जिसी शुन्य रनमा पेभेलियन फर्के ।
नेपाललाई कम स्कोरमा रोक्न म्याथु फोर्डले ३ विकेट लिए। फाबियन एलियन, हेडन वेल्सले समान २ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको हो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे । फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
जोनसन चाल्र्स ५८ रन बनाउँदा क्याच आउट भए । ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए ।
केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट भए ।
ओपनर एलिक अथानाजे ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए ।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।