जनकपुरधाम:नेकपा एमाले पर्सा जिल्लाको निर्वाचनमा कार्यकर्ताहरूबिच कुटाकुट भएको छ ।
एमाले पर्साको अधिवेशनमा जबरजस्ती मतदान गराउन खोजेपछि कार्यकर्ताहरूबिच कुटाकुट भएको जिल्ला सचिवका उम्मेदवार नवराज शर्माले जानकारी दिएका छन् । संस्थापन पक्षले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको उनको भनाइ छ ।
शर्माका अनुसार मतदान स्थलमा कुटाकुट हुँदा वीरगन्ज महानगरपालिका– २० का वडाअध्यक्ष एवं जिल्ला उपसचिवका उम्मेदवार रामकिसोर सिंह (पराग) घाइते भएका छन् । संस्थापन पक्षका मनोज गुप्तासहितको टोलीले इतरपक्षमाथि हमला गरेपछि वडाअध्यक्ष सिंहको नाकमा चोट लागेको छ । घाइते सिंहको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । सोमबार एमाले पर्साको ९ औँ अधिवेशनको उद्घाटन भएपछि शुक्रबार नेतृत्व चयनमा विवाद बढ्दा कुटाकुट भएको हो ।
एमाले पर्साको अध्यक्षमा डा.विश्वम्भर शर्मा सर्वसम्मत चयन भएका छन् ।
बाँकी पदाधिकारी तथा सदस्यहरूका लागि शुक्रबार मतदान हुने तालिका सार्वजनिक गरेको थियो । तर बिहानैदेखि इतरपक्षले संस्थापन पक्षले निर्वाचनमा धाँधली गरिरहेको आरोप लगाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।
एमाले पर्सामा शर्मा निर्विरोध
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन् ।
नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्याशी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन भएका हुन् ।
पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए । उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ ।
सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ ।