वीरगञ्ज:मालपोत कार्यालय पर्सामा सेवाग्राहीसँग अनुचित रकम लेनदेनको लागि कर्मचारी भन्दा बाहिरका व्यक्तिहरुलाई मोठ र तामेली फाँटको जिम्मेवारी दिइएको छ ।

व्यक्ति र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको निकायमा गैर कानूनी रुपमा कार्यालयले नियुक्त नगरेका बाहिरी व्यक्तिहरुलाई जिम्मेवार फाँटमा काम गर्ने अख्तियारी दिइएको मालपोत कार्यालयका एक कर्मचारीले बताएका छन् ।

मालपोत कार्यालय पर्सामा करिव दुई दर्जन भन्दा बढी गैर कानूनी रुपमा राखिएका व्यक्तिहरुलाई तामेली, मोठ, लिखत, रजिष्ट्रेशन, अभिलेख, मुद्दा, प्रशासन र लेखा फाँटमा कामको जिम्मेवारी तोकिएका छ । उनीहरुले लामोसमय देखि उक्त फाँटको जिम्मेवारी हेर्दै आएका छन ।

मालपोत कार्यालय पर्सामा ८ बर्षदेखि मुद्दा र प्रशासन फाँटको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका राजेश्वर प्रसाद साहतेली र भ्रष्टाचार अभियोगमा हाल कारागारमा रहेका मदन प्रसाद गुप्ताले कार्यालय प्रमुखलाई प्रलोभनमा पारेर अधिकांश व्यक्तिलाई गैर कानूनी रुपमा फाँटको कागजपत्र हेर्ने जिम्मेवारी दिन लगाएको स्रोतले जनाएको छ ।

स्थायी नियुक्ति भएका जिम्मेवार कर्मचारीलाई मात्र महत्पूर्ण फाँटको जिम्मेवारी दिनु पर्नेमा कार्यालयले नचिन्ने करिव आधा दर्जन व्यक्तिलाई नियुक्ति नदिईकन मोठ र तामेली फाँटको जिम्मेवारी दिइएको छ । सेवाग्रहीसँग रकम असुल्नकै लागि उनीहरुलाई मौखिक रुपमा फाँटको जिम्मेवारी तोकिएको मालपोतका एक कर्मचारीले बताए ।

स्रोतका अनुसार मोठ फाँटमा राजेन्द्र चौधरी र विशाल साहले काम गर्दै आएका छन् । त्यसैगरी तामेली फाँटमा पुरन पटेल, पतीराम साह र रामरतन मिश्रालाई जिम्मेवारी दिइएको छ । उनीहरु न सरकारी सेवाका कर्मचारी हुन न त उनीहरुलाई कार्यालयले नियुक्ति पत्र दिएर काम लगाएको छ । उनीहरुसँग कार्यालयको कुनै परिचय पत्र समेत छैन ।

उनीहरुले विगत ४÷५ बर्ष देखि बेतलवी रुपमा फाँटमा काम गर्दै आएका छन् । उनीहरुलाई मालपोत कार्यालयका तत्कालीन नासु मदन प्रसाद गुप्ता र राजेश्वर प्रसाद साहतेलीको सिफारिसमा तत्कालीन कार्यालय प्रमुखहरुले मौखिक आदेशमा महत्वपूर्ण फाँटको जिम्मेवारी दिएका थिए ।

सेवाग्राहीसँग रकम असूल्नका लागि अदृश्य रुपमा राखिएका व्यक्तिहरुलाई फाँटको जिम्मेवारी दिदाँ मालपोत कार्यालय पर्सामा निजी र सार्वजनिक सम्पत्तिका लिखत, श्रेस्ता र मोठको रेकर्डहरु च्यातिने, हराउने र केरमेट हुनेगरेका उजुरी स्थानीय प्रशासन देखि सिंहदरवार भित्ररहेको मन्त्रालय सम्म पर्ने गरेका छन् । तर पनि राज्यको ध्यान पुग्न सकेको छैन ।

जनताको सम्पत्तिको संरक्षण गर्ने निकायमा देखिएको बेथिति हटाउने कुरामा राज्यका कुनै निकाय जिम्मेवार भएको देखिदैन । यस बिषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र त्यस अन्तरको भूमि व्यवस्थापन तथा अभिलेख विभाग समेत बेखबर छ ।

मापदण्ड विपरित करारमा कर्मचारी

मालपोत कार्यालय पर्सामा सेवाग्राही र लेखापढी व्यवसायीसँग अनुचित लेनदेन गर्न सक्ने क्षमता भएका केहि व्यक्तिहरुलाई राज्यले तोकेको सेवासुविधा भन्दा आधा रकम दिने शर्तमा करिव दुई दर्जन भन्दा बढी कर्मचारी भर्ना गरिएको छ ।

यसरी नियुक्ति गरिएका व्यक्तिलाई उनीहरुको सेवाग्राहीसँग असुल्न सक्ने क्षमताका आधारमा पारिश्रमिक तोकेर नियुक्ती दिने गरेको मालपोत कार्यालयका एक कर्मचारीले बताए । कुनै विज्ञापन वा प्रतिस्प्रर्धा विना हाकीमको तजविजमा राखिएका ती अधिकांश कर्मचारीको काम सेवाग्राहीसँग रकम असुल्ने हो ।

मालपोतमा कार्यालय सहयोगीको रुपमा ४ जना कर्मचारी मात्र स्थायी छन् । जुगली प्रसाद, श्याम तिमिल्सीना, नागेन्द्र प्रसाद रिजाल र कन्हैयालाल प्रसाद मात्र कार्यालयका स्थायी कार्यालय सहयोगी हुन । उनीहरुलाई मुद्दा, तामेली र मोठ फाँटको काम गर्ने सहयोगीको रुपमा जिम्मेवारी तोकिएको छ ।

विभिन्न कालखण्डमा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारीमा आएका अधिकारीहरुले अनुचित रकम उठाउनकै लागि केही व्यक्तिलाई कार्यालय सहयोगी र मेस्तरको रुपमा नियुक्ति दिनेगरेको ती कर्मचारीले बताए । एउटै घरपरिवारको ३ जनालाई सम्म नियुक्ती दिइएको छ ।

मालपोत कार्यालय पर्सामा करारमा नियुक्ती गरिएका कार्यालय सहयोगीहरुमा कोपिला पुलामी मोठ फाँट (ख), सुरज साह कानू रजिष्ट्रेशन फाँट, रोशन साह मोठ फाँट (ख), रोशन पासवान मोठ फाँट (घ), देवानन्द साह दर्ता फाँट, विनोद प्रसाद चौहान, निकेश मिश्रा र निरज मिश्रालाई मोठ फाँट (क) को जिम्मेवारी दिइएको छ ।

त्यसैगरी सोनालाल साह तामेली, सकिम मंसुर र अनिल यादव मूमिसुधार फाँट, रोहित खत्री तामेलदार, अशोक राउत मेस्तर, छोटेलाल प्रसाद साह र संजय चौरसियालाई सुरक्षा गार्ड पदमा करारमा नियुक्त गरिएको छ ।

यसरी करारमा राखिएका व्यक्तिहरुलाई मासिक १० हजार देखि २४ हजार सम्म पारिश्रमिक दिने गरेको मालपोत कार्यालय पर्साका लेखा फाँटका एक कर्मचारीले बताए । यसअघिका कार्यालय प्रमुखले उनीहरुलाई काम र जिम्मेवारी अनुसार पारिश्रमिक तोकेर नियुक्ति गरेको ती कर्मचारीको भनाई छ ।

एउटा कर्मचारीले पाउँने पारिश्रमीक २ वा ३ जना व्यक्तिलाई बाडेर दिने गरेको लेखा शाखाका ती कर्मचारीले जानकारी दिए । उनका अनुसार फाँटमा काम गर्ने कर्मचारीले सेवाग्राहीसँग काम गरिदिए बापत रकम पाउँने भएकोले उनीहरुले कार्यालयले तोकेको थोरै पारिश्रमिकमा पनि काम गर्दै आएका छन् ।

मालपोत कार्यालय पर्सामा सहायक कम्प्यूटर अपरेटरको पदमा ६ जनालाई मासिक १६ हजारका दरले पारिश्रमीक दिने गरी नियुक्त गरीएको छ । यसरी नियुक्ती पाउँनेमा किरण देवकोटा, कृष्ण कुमार साह, मनिषा शर्मा, दिनेश यादव, सुनिल अधिकारी र राकेश उपाध्याय रहेका छन् ।

मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत डमरु प्रसाद निरौलाले कर्मचारी अभावको कारण उनीहरुलाई करारमा नियुक्ती गरिएको हुन सक्ने बताए । आफू आउनु पूर्व देखि दुई दर्जन भन्दा बढी कर्मचारी करारमा कार्यरत रहेको निरौलाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको