विराटनगर:कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि झापाको दमकमा गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् । एनिकाको अवस्था खतरामुक्त रहेको विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले बताए ।
उनले भने, ‘डाक्टरका अनुसार नानीको अवस्था खतरा मुक्त रहेको छ । गोलीले आन्द्रामा नछोएकाले उपचारमा सहज भएको जानकारी पाएको छु ।’
प्रअ श्रेष्ठका अनुसार उदयपुरकी एनिका ११ कक्षामा अध्ययन गर्न सो विद्यालयमा आएकी थिइन् । घटनामा संलग्न भनिएका यादवले उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।
अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई उनले पढाएको र दमक आएपछि पनि एक–दुई पटक यादवसँग भेट भएको बताएकी छन् । अहिले यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उनको भनाइ छ । गोली हान्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र आरोपीको खोजतलाश जारी रहेको बताएको छ ।