
नयाँ दिल्ली:कन्नड सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म टक्सिकबाट करीना कपूर खान पान इन्डिया स्तरमा डेब्यु गर्न तयार थिइन् । करीनाले केजीएफ स्टारसँग काम गर्न लागेको भन्दै गत वर्षदेखि उनको बारेमा लगातार खबरहरु आइरहेका थिए ।
करिना कपुरले यो फिल्ममा यशको अन–स्क्रिन बहिनीको भूमिका निभाउने भएकी थिइन् । तर, यतिबेला अभिनेत्री उक्त फिल्मबाट बाहिरिएको चर्चा छ । नायिका सौहार्दपूर्ण तरिकाले फिल्म टिमसँग अलग भएको बताइएको छ । मितिमा समस्याको कारण करीनाले फिल्म छोडेको बताइएको छ ।
स्रोतका अनुसार, ‘टक्सिकका लागि यशले छुट्याएको समयसँग करिना कपूरको समय मिलिरहेको थिएन, समय मलाउने प्रयासपछि निर्माताहरूले सौहार्दपूर्ण रूपमा अलग बाटो अपनाएका छन् ।’ कथामा दाजु बहिनीको कहानी देखाउन लागिएको छ । यसमा बहिनीको भूमिका पनि निकै महत्त्वपूर्ण भएकोले सो भूमिकामा शीर्ष स्टार खोजिएको थियो । निर्माताहरूले यो भूमिकाका लागि प्यान इन्डियामा राम्रो उपस्थिति भएका अभिनेत्रीहरूलाई कास्ट गर्न खोजिरहेका छन् । खबरका अनुसार, निर्माताहरूले धेरै अभिनेत्रीहरूलाई सम्पर्क गरेका छन् । करिना कपुरले सो भूमिकामा खेल्न नमानेपछि अब कुन अभिनेत्रीको नाम आउँछ त्यो हेर्न बाँकी छ ।
करीनाले फिल्म छाडेपनि अभिनेत्री कियारा आडवाणी अझै फिल्मको हिस्सा रहेको हल्ला चलिरहेको छ । फिल्ममा कियारा पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्ममा तीनजना मुख्य कलाकार रहने आन्तरिक स्रोतले बताएको छ । फिल्ममा करिना कपुर खान र कियारासहित तीन अभिनेत्री हुने बताइएको थियो । तर अब यसको कास्टमा फेरबदल भएको खबर आएको छ ।
टक्सिक कन्नड फिल्म उद्योगमा कियाराको पहिलो फिल्म हुनेछ । उनले रामचरणसँग गेम चेन्जर नामक तेलुगु फिल्ममा काम गरिरहेकी छिन् । श्रुति हसनले फिल्मको थिम गीत गाएकी थिइन् । यस्तोमा तेस्रो अभिनेत्री श्रुति हुन सक्ने चर्चा पनि आइरहेको छ । तर यश र गीतुले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबिच, गत महिना एक स्रोतले यशले फिल्म निर्माणमा गहिरिएर लागेको खुलासा गरेका थिए । यशले फिल्मका लागि सतर्कतापूर्वक टिम तयार पारिरहेका छन् । फिल्मको शुटिङ छिट्टै हुने बताइएको छ ।