वर्ष दिनमा दर्जनौ पेशाबाट पलायन
जनकपुरधाम:विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटना सार्वजनिक गरेको छ । मिडिया एक्सनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली मिडियामा श्रम शोषण बढ्नुका साथै पारिश्रमिक समेत पाउन नसकिरहेको उल्लेख छ ।
मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना भएको मिडिया एक्सन नेपालले जनाएको छ । ती घटनामा पत्रकारविरुद्धका धम्की, आक्रमण र उत्पीडनसमेत छन् । यी घटनाहरूमा शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की, गैरकानुनी गिरफ्तारी र उपकरण जफतसहितलाई समेटिएको छ ।
प्रतिवेदनले पत्रकारिता पेशाबाट महिला पत्रकारहरूको चिन्ताजनक पलायनलाई पनि झल्काएको छ । यस अवधिमा २९ जना महिलाहरूले यो पेशा छोडेका छन् । यो समस्याले महिला पत्रकारहरूले कार्यस्थलमा सामना गर्ने चुनौती र जोखिमहरूलाई उजागर गरेको छ ।
महिला पत्रकारहरूले लैङ्गिक भेदभाव, यौन उत्पीडन र करिअर अघि बढाउँदा असमान अवसरहरूको पनि सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । यी घटनाले महिलासँगै सबै पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ । प्रतिवेदनले नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लंघनलाई पनि उजागर गरेको छ ।
तलब नपाउने, पाए पनि समयमा नपाउने तथा नियुक्ती पत्र सम्झौता कागजातहरूको अभावदेखि न्यायका लागि जटिल कानुनी प्रक्रिया र मिडिया मालिकबीचको समूहवादसम्म उल्लेख छन् ।
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुनुले पत्रकारहरूलाई शोषण र दुर्व्यवहार, उनीहरूको स्वतन्त्रतामा हनन र पत्रकारिता पेशामै चुनौती थपिदिएको छ ।
पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनताका कारण समस्या भएको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वकालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटामा मात्रै मुद्दा चलाइँदा थप चुनौती बढेको पाइएको छ ।