जनकपुरधाम:नेपालले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयबारे भारतले प्रतिक्रिया दिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका हुन् । नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको थियो ।

जयशंकरलाई एक पत्रकार सम्मेलनमा नेपालको सो निर्णयबारे प्रश्न सोधिएको थियो ।

‘हाम्रो अडान स्पष्ट छ । हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ । त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन,’ जयशंकरले नेपालले जारी गरेको नयाँ नक्सातर्फ समेत संकेत गर्दै भने ।

नेपालले २०७७ मा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको थियो ।

त्यतिखेर अतिक्रमित नेपाली भूमिमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि नेपालले सो नक्सा जारी गरेको थियो । जसलाई संसदले अनुमोदन गरेको थियो । नेपालको सो कदमको विरोध गर्दै भारतले त्यसलाई नस्वीकार्ने बताएको थियो ।

सन् १८१६ को सुगौली सन्धिले काली नदीलाई नेपालको पश्चिमी सीमा मानेको छ । नेपालले सीमा छुट्याउने त्यो काली नदी लिम्पियाधुराबाट निस्केको नदी नै भन्दै आएको छ । तर, भारतले कालापानीमा भारतीय फौज बसेको स्थाननजिकैको सानो खोल्सोलाई काली नदी नामाकरण गरेको छ ।

तर, सो खोल्सो त्यसभन्दा पश्चिमतर्फको जमिन अतिक्रमणका लागि भारतले कृत्रिम रुपमा तयार गराएको नेपाली विज्ञहरुको धारणा छ ।

पछिल्लो समय सीमा समस्याबारे द्विपक्षीय संयन्त्रहरुमा नेपाल र भारतबीच वार्ता हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको