जनकपुरधाम:प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर आगलागीबाट ठूलो क्षति भएको भन्दै दु:ख व्यक्त गरेका छन् ।
सर्लाहीमा शनिबार पार्टीले गरेको कार्यक्रममा उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
सो अवसरमा प्रचण्डले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका थिए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत लगायत पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेकालाई उनले स्वागत गरे ।
यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना माविको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रचण्डलाई सयपत्रीको ठूलो माला लगाइदिएर सम्मान गरिएको थियो । त्यो कति किलोको थियो भन्ने खुल्न सकेको छैन ।