जनकपुरधाम:सत्ताधारी पार्टी जसपामा अचानक आएको विभाजनले धेरै आश्चर्यमा पारे । जसपाका ७ सांसदको हस्ताक्षरसहित अशोक राईले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।
स्रोतका अनुसार यो विभाजनको सूत्रधार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । माधव नेपालको निरन्तरको किचकिच र वैकल्पिक गठबन्धनका लागि भूराजनीतिक प्रयासले दिक्क भएर नेताहरुले यो कदम चालेको स्रोतको भनाइ छ ।
माधव नेपाललाई प्रधानमन्त्रीमा अगाडि सारेर कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धनका लागि शक्तिकेन्द्रले गरिरहेको खेलकुदलाई ओली–प्रचण्डले जसपा विभाजनमार्फत निस्तेज बनाइदिएका छन् ।
आफ्नो जानकारी र सहयोगविना बनेको एमाले–माओवादी गठबन्धनप्रति सुरुदेखि दिल्ली सकारात्मक थिएन । यो गठबन्धन चीनले बनाइदिएको बुझाइ भारतीय संस्थापनमा रहेको छ ।
यता, सत्ताबाट गलहत्याइएको कांग्रेसलाई जसरी पनि प्रचण्डसँग बदला लिनु थियो । प्रधानमन्त्री बन्ने पालो पर्खिएका माधव नेपाललाई पनि अघि सार्ने रणनीति बनेको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सुरुमै यो गठबन्धनमा सहभागी नहुन दबाब थियो । यद्यपि, माधव नेपाललाई पनि उनले रोक्न खोजेका थिए । तर, नेकपा एसले सरकारमा जाने निर्णय लिएपछि यादव निर्णायक रहेनन् । उनी पनि पछि लागे । तर, त्यसपश्चात दिल्लीको इशारामा उपेन्द्रले गठबन्धन भत्काउने खेलमा सक्रिय बनेपछि जसपामा फुट ल्याइएको हो ।
अशोक राईलाई पार्टी विभाजनका लागि तयार पार्न ओलीको मुख्य भूमिका रह्यो । एमालेकै सहयोगमा राईले यसपालि चुनाव जितेका हुन् । उनकी पत्नी पनि सांसद बनेकी छन् । त्यसैले राई एमालेप्रति अनुग्रहित छन् । उनको पुरानो पृष्ठभूमि पनि एमाले नै हो ।
जसपामा विभाजनसँगै माधव उपेन्द्रविनै गठबन्धन टिकाउने आधार तयार भएको छ । एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ ।
जसपा फुटपछि माधव नेपालको बार्गेनिङ पावर समाप्त हुने भएको छ । उनी सरकारमा निर्णायक रहने छैनन् । उस्तै परे नेकपा एसलाई बाहिरै राख्न सकिने रणनीतिसमेत गठबन्धनमा बनिरहेको स्रोत बताउँछ ।