जनकपुरधाम:२०७९ को निर्वाचनअघि माओवादी केन्द्र छाडेकी महिला नेतृ अनितादेवी यादव फेरि माओवादी केन्द्रमै फर्केकी छन् ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सर्लाहीको बलरामा आयोजित कार्यक्रममा अनितासहितका सयौँ नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गरेका माओवादी नेता राजकुमार यादवले जानकारी दिए ।
गएको चुनावमा अनितादेवी सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (ख) मा स्वतन्त्रबाट उम्मेदवार बनेर पराजित भएकी थिइन् । माओवादीले टिकट नदिँदा त्यतिबेला उनी माओवादी केन्द्रकै उम्मेदवार विरुद्धमा स्वतन्त्रबाट बागी उम्मेदवार बनेकी थिइन् । चुनावमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकै फकिरा महतो विजयी हुँदा उनी निकटतम प्रतिस्पर्धी बनेकी थिइन् ।
महतो ८०३३ मत ल्याएर मधेस प्रदेश सभामा विजयी हुँदा अनितादेवीले ७ हजार ६७६ मत प्राप्त गरेकी थिइन् । ०७४ अघि उनी तमलोपामा थिइन् । उनी ०७४ मा रामेश्वर रायसँगै तमलोपाबाट माओवादी प्रवेश गरेकी गरेकी थिइन् । ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा उनी गोडैता नगरपालिकाको मेयरमा चुनाव लडेर पराजित बनेकी थिइन् ।
नेतृ यादवसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका एक हजार नेता कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराएका बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले यो वर्ष मधेसलाई प्राथमिकतामा राखेर वजेट बनाइने बताए । कार्यक्रममा पूर्वमन्त्रीद्वय महेन्द्र राय यादव र रामेश्वर रायसहितका माओवादी नेता पनि सहभागी थिए ।