जनकपुरधाम:नेपाल प्रहरीका दुई डीआईजी (प्रहरी नायब महानिरीक्षक) ३ वैशाखमै एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा सिफारिस भए पनि अहिलेसम्म बढुवा हुन सकेका छैनन् ।
गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । त्यसपछि मन्त्रिपरिषदले उनीहरुको बढुवाको निर्णय गर्नुपर्नेमा अहिलेसम्म हुन नसकेको हो ।
१० देखि १९ वैशाखसम्म प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्सको लियोनमा रहे । महानिरीक्षक फ्रान्स गएको कारण देखाएर बढुवा नगरेको भए पनि उनी फर्केको एक हप्ता भइसक्यो । कुँवर नेपाल फर्केपछि एक पटक मन्त्रिपरिषद बैठक बसिसकेको छ, तर उक्त बैठकमा एआईजी बढुवाले प्रवेश नै पाएन ।
एआईजी बढुवाको निर्णय नहुनुमा उनीहरुको पदस्थापनसँग जोडेर हेरिएको छ । बढुवा भएर प्रहरी महानिरीक्षकबाट दर्ज्यानी चिह्न लगाएपछि थपिएका दुई एआईजीलाई प्रहरीका कुनै निकायको जिम्मेवारी दिनुपर्छ ।
अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) मा रहेका जोशी र प्रहरी प्रधान कार्यालयको आईजी सचिवालयमा कार्यरत रहेका ढकाल बढुवा भएसँगै उनीहरुको पदस्थापन र थप केही एआईजीहरुको सरुवा समेत गर्ने तयारी गृह मन्त्रालयको गरेको छ ।
उच्च स्रोतका अनुसार एआईजीका लागि आकर्षक मानिएका काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी एकेडेमी, मानव स्रोत विभागमा कसलाई पदस्थापन तथा सरुवा गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।
अहिले बढुवा सिफारिमा परेका ढकाल भने सुन प्रकरणमा संलग्नताको आरोप लागेका प्रहरी अधिकारीहरुलाई कारबाहीका लागि सिफारिस गर्न बनेको समितिमा छन् । उक्त समितिले प्रतिवेदन बुझाएपछि मात्रै एआईजी बढुवाको निर्णयका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको रहेको स्रोतको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयका अधिकारीहरु एआईजी बढुवाको निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहेको भन्दै यसबारे अनिवज्ञता प्रकट गर्छन् ।
एआईजी मात्रै होइन ३ वैशाखमा नै प्राविधिक तर्फका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)हरु पनि डीआईजीमा बढुवा सिफारिस भएका थिए । उनीहरुको पनि बढुवाको निर्णय भएको छैन ।