काठमाडौँ:भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा पाँचौँ कार्यकालका लागि शपथ लिएका छन् ।

उनले मार्चमा भएको निर्वाचनमा भारी बहुमतसहित विजय हात पारेका थिए । जसका कारण उनी अब ६ वर्ष सो पदमा रहनेछन् । कार्यकाल सकिँदा उनी ७७ वर्ष पुग्नेछन् । मंगलबार क्रेमलिनमा आयोजित शपथ समारोहमा सैन्य तथा राजनीतिक नेतृत्वको उपस्थिति थियो । सो समारोहमा प्रतिनिधि पठाउन अमेरिका र थुप्रै युरोपेली मुलुकले अस्वीकार गरेका छन् ।

रुसको राजनीतिमा पुटिन धेरै वर्षदेखि चुनौतीविहीन नेता रहँदै आएका छन्। पटकपटक संविधान संशोधन गरेर उनले आफू सर्वोच्च पदमा रहने बाटो खोल्ने गरेका छन् ।

उनी आफ्ना व्यक्तिगत घटनाहरुलाई अति गोप्य राख्छन्। ३० वर्षको दाम्पत्यपछि उनले २०१३ मा पत्नी ल्युदमिलासँग सम्बन्धविच्छेद गरे । उनीहरुका दुई छोरी मारिया र कतरिना छन् । मारिया प्राज्ञिक व्यक्तित्वका साथै व्यवसायी हुन् भने कतरिना एउटा रिसर्च फाउन्डेसनकी प्रमुख छिन् ।

लेनिनग्राद युनिभर्सिटीमा कानुन अध्ययनपछि १९७५ मा उनी सोभियत गुप्तचर निकाय केजीबीमा भर्ती भएका थिए । जर्मन भाषा सिकेका उनलाई १९८५ मा पूर्वी जर्मनी पठाइयो । जहाँ १९८९ मा सोभियत संघको पतन उनले आफ्नै आँखाले देखे ।

१९९१ मा पुटिन लेनिनग्रादका मेयर अनातोली सोब्चाकको सहायक बने । सोब्चाक हारेपछि पुटिनलाई राष्ट्रपतीय कार्यालयमा झिकाइयो । केही समय उनी केजीबीको सट्टामा गठित एफएसबीको प्रमुख भए । त्यसपछि सुरक्षा परिषदको सचिवका रुपमा राष्ट्रपतिलाई रिपोर्टिङको जिम्मेवारी उनलाई दिइयो। यो उनको नाटकीय बढुवाको समय थियो ।

९ अगस्ट १९९९ मा राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री सेर्गेइ स्तेपासिनलाई बर्खास्त गरे र त्यो पदमा ४६ वर्षीय पुटिनलाई नियुक्त गरे। जसले सन् २००० मा हुने राष्ट्रपतीय चुनाव सम्हाल्नुपर्ने थियो ।

त्यहीबेला मस्कोमा शृंखलाबद्ध बम विस्फोट भयो । बदलामा पुटिनले चेचेन्यामाथि सैन्य आक्रमण गरे। उनको लोकप्रियता चुलियो ।

यल्तसिनले राजीनामा दिएपछि ३१ डिसेम्बर १९९९ मा उनी कार्यवाहक राष्ट्रपति बने। तीन महिनापछिको चुनाव पनि उनले सहज रुपमा जिते ।

उनको नेतृत्वमा रुसले आर्थिक लय पक्रियो । उनी पश्चिमसँग सम्बन्ध सुधार गर्ने पक्षमा थिए । सेप्टेम्बर २०११ मा अमेरिकामा आतंकवादी हमला हुँदा अमेरिकी समकक्षीलाई फोन गर्ने उनी पहिलो नेतामध्ये एक थिए ।

तर, चाँडै पश्चिमबाट उनी विरक्तिए । यी दुई मुलक छद्म रुपमा लडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको