जनकपुरधाम:नागरिक अगुवाहरूले राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई एक सयको नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयप्रति असहमति राखेको भन्दै बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
पूर्वमन्त्री एवं भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल र पत्रकार÷लेखक कनकमणि दीक्षितले बुधबार वक्तव्य जारी गर्दै नेपालको अभिव्यक्तिले संवैधानिक राष्ट्रप्रमुखकोको पनि अपमान भएको उल्लेख गरेका छन् ।
‘चलनचल्तीमा रहेको नेपालको नक्सा अंकित एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णय प्रति राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले गरेको विरोधप्रति हामी निम्न हस्ताक्षरकर्ता खेद व्यक्त गर्दछौँ। मुलुकको हित र स्वाभिमानविरुद्ध र पदीय मर्यादा विपरीत राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रतिक्रिया दिँदै उनले यस्ता टिप्पणी गरेका छन्’ वक्तव्यमा छ ।
सल्लाहकार नेपालले ’देश सञ्चार’ अनलाइन पोर्टलमा २३ वैशाख २०८१ मा भनेका छनः “सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ। भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो’ भनेको प्रसंगलाई उनीहरुले आपत्तिजनक ठानेका छन् ।
‘सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पदको गरिमामा चोट पुर्याएको छ । राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ’अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ’अविवेकी’ भन्ने सल्लाहकार चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुइन बाध्य छौं’ वक्तव्यमा छ,’राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न हामी अविलम्ब राष्ट्रपति कार्यालयबाट माग गर्दछौं, साथै, सल्लाहकार चिरञ्जीवी नेपाललाई तत्कालै पदबाट हटाउन माग गर्दछौं ।’