एमाले र माओवादी समर्थन फिर्ता लिने तयारीमा

जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेस प्रदेश सरकार संकट आउने देखिएको छ । मधेस सरकारलाई समर्थन दिएको माओवादी केन्द्रले निरन्तरता दिने कि नदिने भन्ने विषयमा पार्टी भित्र छलफल चलिरहेको छ । यसका लागि माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा नेताहरू आन्तरिक छलफलमा रहेको श्रोतले जनाएको छ ।

माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले भने, ‘जसपा नेपाल विभाजन भएपछि यो सरकार अल्पमतमा परेको हो, जसपा केन्द्रमा पनि कमजोर भएको छ, त्यहाँ पनि रहने कि नरहने ठेगान छैन, मधेस प्रदेशमा पनि पार्टी नै विभाजन भएपछि पार्टी कमजोर भएको छ त्यो हिसाबले अब जसपाको सरकारलाई समर्थन दिने कि नदिने विषयमा छलफलमा जुटेका छौं ।’

माओवादी केन्द्रले मधेस प्रदेशमा दुईवटा मन्त्रालय पाएपनि सो पार्टीका नेता भरत साहले वन मन्त्रालय स्वीकार गरेका छैनन् । पछिल्लो समय मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदा माओवादीलाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । विश्वासको मत लिइसकेपछि माओवादीलाई वन मन्त्रालय दिएका कारण साहले सो मन्त्रालय स्वीकार नगरेका हुन् ।

माओवादीले भने मुख्यमन्त्रीमा नै दाबी गरेको थियो । तर केन्द्रीय गठबन्धनको निर्णयअनुसार सुरुमा जसपालाई नै नेतृत्व गर्न दिने भनिएपछि कुरा अगाडि बढेको थियो । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपाल नै विभाजन भएपछि नैतिकतामा आधारमा सरकारको नेतृत्व गर्न नमिल्ने र छाड्नुपर्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार विस्थापित गराउन हौसिएका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले आज (बिहीबार) नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने गृहकार्य गरे पनि जसपासहित बन्ने नयाँ गठबन्धनमा मुख्यमन्त्री यादव आउने भरोसामा रोकिएको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार विस्थापित गराउन नेतृत्व गरिरहेका माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले बिहीबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने गृहकार्य गरे पनि जसपासहित बन्ने नयाँ गठबन्धनमा मुख्यमन्त्री यादव आउने विश्वासमा रोकिएको स्रोतको भनाइ छ । सोही कारणले तत्काल सरकारबाट नबाहिरिन एमालेका प्रादेशिक नेतालाई समेत केन्द्रीय नेतृत्वले निर्देशन दिएको बुझिएको छ ।

मुख्यमन्त्री यादवनिकट एक नेताले भने पार्टी परिवर्तन गर्न मुख्यमन्त्री यादवलाई कुनै पनि प्रस्ताव कतैबाट नआएको र मुख्यमन्त्रीले कुनै पनि हालतमा पार्टी नछाड्ने बताए । ‘पार्टीका एकजना प्रदेशसभा सदस्य पनि पार्टी परिवर्तन नगरुन् भन्ने उद्देश्यले मुख्यमन्त्री सबै प्रदेश सांसदका निकट सम्पर्कमा हुनुहुन्छ । उहाँ आफैँ त्यस्तो गर्ने प्रश्न नै उठ्दैन,’ उनले भने ।

मुख्यमन्त्री यादव जसपामा नजाने पक्कापक्की भएपछि मात्र एमाले र माओवादी सरकारबाट बाहिरिँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेछन् । समर्थन फिर्ता लिए लगत्तै एमालेले मधेस सरकारको नेतृत्व गर्ने तयारी गरेको श्रोतको दावी छ । एमाले नेतृत्वमा गठन हुने नयाँ सरकारमा जनमत पार्टी र नवगठित जसपाले समर्थन जनाउने आन्तरिक गृहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको