अब नगरपालिका कसले चलाउने

जनकपुरधाम:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार नगरपालिकाका मेयर सुरेश साह सोनार, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्रसहितको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले नगरपालिकाका अधिकृत छैठौं धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव इन्जिनियर दिपेश कुमार साह, कार्यापालिका सदस्य सोगरा खानुत, वडा नम्बर १ का वडा अध्यक्ष अनिल कुमार झा विरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ ।

उनीहरुमाथि नगरपालिकाको वडा नम्बर १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरेको आरोप रहेको छ ।

नगरपालिका कसले चलाउने ?

नगरपालिकाका मेयर र उपमेयर भ्रष्टाचार मुद्दाले निलम्बनमा परेपछि अब नगरपालिका कसले चलाउने भन्ने अन्यौलता उत्पन्न भएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ मा कार्यविभाजन र कार्य सम्पादनको जिम्मेवारी मेयर र उपमेयर सम्हाल्ने व्यवस्था छ । जसमा मेयर वा अध्यक्षको अनुपस्थितिमा उपमेयर वा उपाध्यक्षले स्थानीय सरकार प्रमुखको हैसियतमा काम गर्ने व्यवस्था छ । यस्तै, ऐनको दफा १८ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जहाँ कार्यपालिका बैठकले आफूलाई प्राप्त अधिकार जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई प्रत्यायोजन गर्ने सक्ने व्यवस्था छ ।

तर, मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष निलम्बनमा परेपछि उहाँको अनुपस्थितिमा उनीहरुले गर्दै आएको काम कसले गर्ने भन्ने अधिकार प्रत्यायोजन गर्ने व्यवस्था ऐनमा छ । अब यहाँ मेयर र उपमेयर दुबै जना एकैपटक निलम्बनमा परेपछि स्थानीय सरकार कसले चलाउने ? जलेश्वर नगरपालिकामा यो प्रश्न अहिले जटिल प्रश्नको रुपमा खडा भएको छ । किनभने मेयर मात्रै निलम्बनमा परेका भए उपमेयरले चलाउथे, उपमेयर निलम्बनमा परेका भए मेयर भइहाल्ने थिए ।

मेयर र उपमेयर एकैपटक निलम्बनमा परे भने नगरपालिका कसले चलाउने ? हामीले यो प्रश्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईलाई सोधेका छौं । उनले भने संघ र प्रदेशमा कार्यकारी व्यक्ति अनुपस्थितिमा ज्येष्ठ सदस्यले जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेपनि स्थानीय तहतर्फ मेयर र उपमेयर दुवै एकैपटक निलम्बनमा परे भने स्थानीय सरकार कसले चलाउने भन्ने संविधान र विद्यमान कानूनमा स्पष्ट व्यवस्था नरहेको बताए ।

उनले जलेश्वर नगरपालिकाको हकमा अब नगरपरिषद बस्ने र सो परिषदले आवश्यक निर्णय गर्ने बताए । परिषदले जेष्ठ वडाध्यक्षलाई कार्यवाहक सरकार प्रमुख तोकेर गाठो फुकाउन सक्ने जानकारी दिए । सो नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । शिक्षा शाखा हेरिरहेका जयकुमार साहलाई विगत ४ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको ४ महिनाअघि सो नगरपालिकाबाट बलवा नगरपालिकामा सरुवा भएपछि पद खाली छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह अब कसरी अघि बढ्ने भन्ने विषयमा अन्योल रहेको बताउँछन् । उनले भने ‘प्रमुख र उपप्रमुख एकैपटक निलम्बनमा पर्नुभएको छ । अब कसरी अघि बढ्ने भन्ने अन्योल छ । बैशाख २९ गते शनिवार नगरकार्यपालिकाको बैठक बोलाएका छौं । सो बैठकले केही बाटो खुलाउँछ होला ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको