जनकपुरधाम:पदीय आड्मा उन्मुक्ति पाउन खोजेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगी घटनाको छानबीन प्रतिवेदन प्रहरीले सरकारलाई बुझाएको छ ।

गृहमन्त्री लामिछाने जोडिएको पहिलो घटना हो, कास्कीको सूर्यदर्शन सहकारी । यही सहकारीमा मुछिएको लामिछानेको नाम देशभरका अन्य सहकारीमा पनि मुछिएको छ । तर, उनले सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । यसैबीच पदीय आड्मा उनले महान्यायधिवक्ताबाट गैरकानूनी रुपमा उन्मुक्ति पाउन समेत खोजेका छन् ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको छ । रूपन्देहीमा त सरकारी वकिलले गरेको अभियोजनमा नै लामिछानेको नाम छ । तर, त्यहाँ भएको भनिएका रवि आफू नभएको उनको प्रष्टोक्ति छ ।

सूर्यदर्शन सहकारीका पीडितले गत माघ २२ गते नै लामिछानेविरुद्ध पूरक उजुरी दिएका थिए । उक्त उजुरीपछि महानगरपालिकाले फेरि अर्को विस्तृत अध्ययन थालनी गरेको थियो । झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहीबार कास्की प्रहरीलाई बुझाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तृत प्रतिवेदनका नौवटै ठेली कास्की प्रहरीका डीएसपी वसन्त शर्मालाई हस्तान्तरण गरेका हुन् ।

अर्कातर्फ पूर्व डीआईजी छविलाल जोशीको घरमा भेटिएको सहकारीको सफ्टवेयरमाथि सीआईबीले पनि छुट्टै छानबिन गरिरहेको छ । विभागीय मन्त्री मुछिएको सहकारी प्रकरणमा कास्की प्रहरीले चाल्ने कदमलाई पीडितहरूले चासोका साथ हेरिरहेका छन् ।

लामिछाने यस सहकारीमा मुछिएको प्रतिवेदन गत साउनमा नै सार्वजनिक भएको थियो । अहिलेको प्रतिवेदन त्यसैको विस्तृत रूप भएको प्रतिवेदन लेखनमा संलग्न एक अधिकारीले बताए । सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ हिनामिनामा ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँगै लामिछानेको नाम जोडिएको हो ।

लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक थिए । प्रबन्ध निर्देशकबाट राजीनामा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेका थिए । ग्यालेक्सी टेलिभिजन गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालन गर्दै आएको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष हुन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी ‘स्क्याम’ छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा रवि लामिछानेले लिएको भनिएको एक करोड रुपैयाँ पुलेसो (ब्रिज) ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले पेस्की फर्छ्यौट गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा लामिछानेको नाम एक ठाउँमा मात्र उल्लेख छ । उनले कुन मितिमा ऋण लिएका थिए भन्ने प्रतिवेदनमा भेटिँदैन । उनको नाममा रहेको पुलेसो ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले तिरेको भन्ने मात्र प्रतिवेदनमा उल्लेख छ । “रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरी खाता नं. ४९–००७७० मार्फत पेस्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले छानबिन अघि बढाएको थियो । कास्की प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अपचलन मुद्दा अघि बढाउन पोखरा महानगरपालिकासँग अनुसन्धान प्रतिवेदन मागेको थियो ।

अनिल लामिछाने र दिपकप्रकाश आचार्यले २०८० असोज १० गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिका विषयमा विश्लेषणात्मक प्रतिवेदन बुझाएका थिए । उनीहरूले प्रतिवेदन तयार पार्दा आर्थिक वर्ष २०७८-२०७९ को संस्थाको प्राप्त लेखा परिक्षण गरिएको वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०७९-२०८० र २०८०-८१ को कारोबारको विवरण, संस्थाको प्राप्त लेखा प्रणालीसँग सम्बन्धित संस्थामा भएका कागजातहरू, पोखरा महानगरपालिका सहकारी शाखासँग भएका संस्थासँग सम्बन्धित कागजातहरू र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्राप्त गरेका र उपलब्ध गराएका कागजातहरूको अध्ययन-अनुसन्धान गरेका थिए ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०-८१ को भदौ २१ गतेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कारोबार भएको देखिएको थियो । अहिलेको प्रतिवेदनमा भने २०७२ साल यतादेखिकै कारोबार, ऋण लिएको दिएको, भुक्तानीसहित व्यक्तिको विवरण समेटिएको छ ।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीका अनुसार प्रतिवेदनमा को, कसले, कुनकुन अध्यक्षको पालामा, कति हिनामिना भएको छ भन्ने उल्लेख छ । तिवारी नेतृत्वको समितिले नै यो प्रतिवेदन तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको