जनकपुरधाम:नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को भाग राखेर लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा भएको छ ।

शिक्षक महासंघका दुई मुख्य घटक संस्था एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) र कांग्रेस निकट नेपाल शिक्षक संघ (एनटीए) बीचको विवादका कारण १०, ११, १२ वैशाखमा भएको दोस्रो महाधिवेशनमा नयाँ कार्यसमिति बन्न सकेको थिएन ।

एनएनटीएले महाधिवेशन बहिष्कार गरेपछि नयाँ कार्यसमिति बन्न सकेन र १७ वैशाखमा कार्यसमिति घोषणा सभा राख्ने भन्दै महाधिवेशन सकिएको थियो ।

महासंघले समस्या समाधान गर्न गठन गरेको वार्ता समितिले पटक पटक वार्ता गरे पनि सहमति हुन सकेको थिएन । विवाद समाधान हुने नदेखिएपछि बिहीबार एनएनटीएको भागमा पर्ने महासचिव, उपाध्यक्ष, उपमहासचिव, सचिव लगायतका ११ पद खाली राख्दै सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता कै क्रममा रहेको र चाँडै संगठन पनि सहमतिमा आउने बताए । उनले भने ‘हामीले एनएनटीएको लागि पद खाली राखेर गएका छौं । केही दिनभित्रै उहाँहरू पनि आउनुहुन्छ ।’ अरू सबै घटक संस्थाको सहमतिमा नयाँ कार्यसमितिको घोषणा भएको उनले जिकिर गरे ।

तर नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले भने संगठनलाई बाहिर राखेर घोषणा भएको नयाँ कार्यसमिति विधान विपरीत रहेकोले मान्य नहुने बताए । उनले भने ‘म बुटवल छु हामीलाई कुनै पनि जानकारी आएको छैन । तर कार्यसमिति घोषणा भएको सुनें यो विधान विपरीत छ र हामीलाई मान्य छैन ।’ अब संगठन कसरी बढ्ने भन्ने कुरा आफू काठमाडौं फर्केर निर्णय गर्ने बताए ।

संगठनले पुरानो सदस्यताको आधारमा (७८ सालको) राखिएकाले मान्य नहुने, विधान अनुसार बहुमत पु¥याउनको लागि पनि कम्तीमा ३९ वटा जिल्लामा अधिवेशन सक्नुपर्ने त्यो नभएसम्म सहमति हुन नसक्ने अडान राखेपछि विवाद लम्बिएको हो ।

महासंघको विधानअनुसार स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै केन्द्रको महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । सदस्य संख्याको आधारमा पहिलो हुनेले अध्यक्षसहित ११ सिट पाउने, दोस्रो हुनेले महासचिवसहित ११ सिट पाउने, तेस्रो हुनेले सहअध्यक्ष लगायत पाउने, चौथो हुनेले कोषाध्यक्ष सहितका सिट पाउने व्यवस्था छ ।

सोहीअनुसार संगठनको भागमा महासचिव सहितको पद खाली राखेर कार्यसमिति घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको