जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपालको तेस्रो पक्षले छुट्टै मोर्चा घोषणा गरेको छ ।
संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण गरी जसपा नेपालमा समाहित भएका नेताहरूले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका हुन् । यसअघि जसपा उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा दुई टुक्रा भइसकेको छ । यी दुवै पक्षमा नलागेकाहरूले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पहिचानवादी मोर्चा घोषणा गरेका हुन् । उनीहरूले प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन् । पहिचानका मुद्दालाई सशक्त बनाउन, पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्ति सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।
जसपा नेपालका तत्कालीन राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै आफूहरू दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।
‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौँ । हामीलाई थाहा भएन कि पार्टीमा के हुँदै छ ? पार्टी विभाजन भयो, यसमा हाम्रो कुनै हात छैन। अहिले जसपा र जसपा नेपाल भएर आयो’, उनले भने, ‘यो पार्टी अगाडि बढिरहँदा जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन ।’
जसपा नेपाल उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादवले नेतृत्व गरेका छन् भने अशोक राईको अध्यक्षतामामा ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको छ । जसपाका १२ सांसदमध्ये राई पक्षमा ७ र यादव पक्षमा ५ जना बसेका छन् ।
जसपाबाटै अलग्गिएर बिहीबार घोषित मोर्चाले प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उद्घोष गरेको छ ।