जनप्रतिनिधि सनाख्तपछि सरकारको भविष्य निर्धारण

जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश सरकार विघटनको समस्या तत्कालका लागि टरेको छ । यो संगै मुख्यमन्त्री सरोजकुमार यादवको पद पनि तत्कालका लागि सुरक्षित बनेको छ ।

बिहीवार सरकारबाट समर्थन फिर्ता लिने माओवादी केन्द्रको प्रयासले मधेश सरकार विघटन हुने सम्भावना बढेको थियो । एमाले नेतृत्वमा नयाँ सरकार गठन हुने चर्चा बिहीवार दिनभरि रहयो ।

प्रदेशका नेताहरुले प्रयास गरेपनि एमाले र माओवादीको केन्द्रिय नेतृत्ववर्गले तत्काल समर्थन फिर्ता नलिन निर्देशन दिएपछि तत्कालका लागि समस्या टरेको हो । माओवादी र एमालेका केन्द्रिय नेतृत्वले नवगठित अशोक राई नेतृत्वको जसपामा सांसद संख्या यकिन हुन नसक्दा तत्कालका लागि पछि हटेको हो ।

तर यो बढी दिनसम्म सेफजोनमा रहन सक्दैन । किनकी निर्वाचन आयोगमा उपेन्द्र यादव र अशोक राई नेतृत्वको जसपामा छुट्टाछुट्टै रुपमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरुले सनाख्त गरेपछि सरकारको भविष्य निर्माण हुनेछ । नवगठित जसपाको सांसद यकिन नहुँदासम्म माओवादी र एमाले सरकारबाट समर्थन फिर्ता लिए नयाँ सरकार गठनका लागि संख्या पुग्ने सम्भावना देखिदैन ।

एमाले र माओवादी नेतृत्वले नवगठित जसपा मार्फत मुख्यमन्त्री यादवलाई नवगठित जसपामा आउन नत्र मुख्यमन्त्री पदबाट हटाई दिने दबाव सहितका चेतावनी आइरहेको उनी निकट श्रोत बताउंछन् । मलाई मुख्यमन्त्री पदबाट हटाओस वा राखोस केही मतलब छैन आफू संस्थापन जसपामै रहने भनेपछि त्यो योजन सफल हुन हुन सकेन ।

जसपा नेपाल पार्टी विभाजन भएपछि मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार ढाल्न विभाजित जसपाको समूह लागि परेको छ । त्यसै अनुसार सुरुमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री बन्ने प्रस्ताव गरिएको थियो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ छोडेर आफूसहित ९ सांसद लिएर आफ्नो खेमामा आए मुख्यमन्त्री बनाइदिने प्रस्ताव उनलाई अशोक राई नेतृत्वको जसपाले गरेको थियो । त्यसका लागि माओवादीसहित सत्तारुढ दलबाट पूर्ण सहयोग रहने आश्वासन उनलाई दिइएको थियो । तर त्यो प्रस्ताव पूर्वमुख्यमन्त्री राउतले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवलाई नै आफ्नो पार्टीमा आउन नवगठित जसपाले दबाव दिएको थियो । त्यसमा नमानेपछि माओवादी प्रदेश संसदीय समितिलाई प्रभावमा लिई सरकार ढाल्ने कसरत सुरु गरेका थिए ।

पूर्वमुख्यमन्त्री राउतले आफूलाई मुख्यमन्त्री बन्ने प्रस्ताव आएको सुनाए । उनका अनुसार केही साथीका माध्यमले प्रस्ताव आए पनि स्वीकार नगरिएको हो । उनले भने, ‘प्रस्ताव ल्याउने ती साथीलाई मैले पार्टी अध्यक्ष उपेन्द्र यादवको साथ नछोड्ने सुनाएँ, एकपटक मुख्यमन्त्री भइसकेको छु, अब लालच पनि छैन । यति भनिसकेपछि ती साथी चुप भए ।’

यसरी विथोलियो

स्रोतका अनुसार वन तथा वातावरण मन्त्री समेत रहेका माओवादीका भरत साहले एमाले र माओवादी एकसाथ समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने सोचेका थिए । उनले छलफलका लागि एमाले दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवसंग छलफल गर्न खोजे ।

सर्लाहीको मलंगवामा चिनियाँ राजदूत सहभागी कार्यक्रम बीचमै छाडेर एमाले दलका नेता यादव जनकपुरधाम फर्किए । तर माओवादी दलका नेता साहसंग छलफल गर्नै पाएनन् । एमाले नेतृत्वले मन्त्री यादवलाई काठमाडौं बोलाइहाले ।

स्रोतका अनुसार एमाले नेतृत्वले तत्काल नयाँ सरकारको विकल्प नसोच्न निर्देशन दिएका छन् । एमालेका एक नेताले भने, ‘जसपा नेपाल विभाजन भएपछि कति सांसद यता कति उता जाने कन्फर्म छैन् । उनीहरुको सनाखत सकेपछि मात्रै केही हुन्छ । अहिले तत्काल सरकारबाट बाहिरिने र नयाँ सरकार बनाउने कुरा छैन ।’

केन्द्रीय नेतृत्वको निर्देशनपछि एमाले दलका नेता यादव पछि हट्यो । एमाले नेतृत्वको निर्देशनपछि नेता यादव तत्काल सरकारको विकल्प नसोच्ने बताएपछि माओवादीले यू टर्न लियो । आफूले नै बोलेको कुराबाट नेता साह पछि हट्यो । शुक्रवार उनी बोली फेर्दै भने केन्द्रको निर्देशन नआएपछि अघि बढेनौं ।

माओवादी नेता साहले सरकार ढाल्ने प्रयास गर्दा मुख्यमन्त्रीमा एमालेले दाबी गर्न थालेपछि उनी झस्किदै पछि हट्यो । एमाले, जनमत, एकीकृत समाजवादी र माओवादी मिलेको खण्डमा समेत साना दलहरुको समर्थन आवश्यक पर्छ । तर सरकार फेर्ने सवालमा एमालेले आफ्नो ‘क्लियर’ धारणा बनाइनसकेको भन्दै मुख्यमन्त्री पाए विचार गर्न सकिने प्रस्ताव एमालेबाट आयो । एमालेको यस्तो प्रस्तावमा माओवादी सहमत हुन नसकेको स्रोत बताउँछ ।

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए ।

जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । यसआधारमा यहाँ ४६ सांसद छन् । २०७९ पुस २७ मा मधेशको मुख्यमन्त्री बनेका यादव त्यसयता निरन्तर मुख्यमन्त्री छन् । उनले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौँथोपटक विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको