‘वर्तमान संसदीय व्यवस्था असफल भई सक्यो’

जनकपुरधाम:जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् । मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हताश मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए ।

सत्ता टिकाउन आफूले जसपा नेपाललाई फुटाएको प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति सहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको समयमा मन्त्री यादवले २÷४ जना लोभी पापीलाई पार्टीबाट फुटाइउँदै युद्ध जिते सोच्नु दिवा स्वप्न मात्रै रहेको बताए ।

निर्दलीय व्यवस्था बिरुद्ध लडेका कांग्रेस कम्युनिष्ट बिरुद्ध पनि यस्तै षडयन्त्र हुन्थ्यो, उनले भने ‘षडयन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षडयन्त्र स्वरुप २÷४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो ।’

मधेसको मुद्दा, संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिले देखि नै षडयन्त्र हुँदै आईरहेको थियो, सोही षडयन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेस माथी प्रहार गरिएको मन्त्री यादवको भनाई थियो । पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नहुने दावी गर्दै उनले अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पारे । उनले भने ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला ।’ अगाडी थप्दै भने ‘जसरी शरीर स्वस्थ रह्नका लागि बिकार निकाल्नु पर्छ राम्रै बिकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्ने छ ।’

उनले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए । अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गरेर कोही तानाशाही व्यवस्थातिर जालान् वा नयाँ क्रान्तिबाट समतामूलक समाज बनाउनेगरी नयाँ संविधान बनाउने विकल्प देशमा रहेको बताए । उनले आफूहरूले संघीय गणतन्त्र, लोकतन्त्र, समावेशिता आदिलाई संस्थागत गर्दै नागरिक स्वतन्त्रताका पक्षमा संघर्ष गरिरहने प्रस्ट्याए ।

देशमा वेस्ट मिन्स्टरको नक्कल गरिएको अहिलेको संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै उनले जनताद्वारा सीधा निर्वाचित कायकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताए । उनले मिश्रित निर्वाचन प्रणाली विकृतिमूलक र खर्चिलो भएकाले देशका लागि उपयुक्त नभएको जिकिर गरे । ‘गाउँदेखि संसद्को चुनावसम्म उम्मेदवारले पैसा खर्च गर्दैनन्, पैसालाई पानीजस्तो बगाउने गर्छन् । यस्तो खर्चिलो चुनाव नेपालजस्तो गरीब देशका लागि उपयुक्त छैन,’ उनले भने ।

खर्चिलो चुनाव प्रणाली रहे देश भ्रष्टाचार र कुशासनको दलदलमा फस्ने औंल्याउँदै अध्यक्ष यादवले पार्टी र उम्मेदवारलाई एक रुपैयाँ पनि खर्च नहुने समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिए । उनले विश्वका ७१ वटा देशमा समानुपातिक निर्वाचन प्रणाली रहेको पनि जनाए ।

संसद् पूर्ण समावेशी र सांसद सरकारमा नगई विधायिकी कार्य मात्र गर्ने खालको हुनुपर्ने भन्दै उनले सांसदको सरकारमा सहभागिता विकृति र कुशासनको बाटोमा जाने कार्य भएको टिप्पणी गरे ।

अध्यक्ष यादवले स्थानीय तहलाई लुटको राजनीतिक अखाडा वा पहलमानी गर्ने ठाउँ नबनाउन त्यसलाई दलीय राजनीतिबाट टाढा राख्नपर्ने बताए । स्थानीय तह चुनावलाई दलीय बनाए समाजको सेवा गर्ने इच्छा भएका असल, योग्य र सक्षम व्यक्ति तथा युवा राजनीतिप्रति आकर्षित हुने उनको कथन छ ।

उनले मधेश आन्दोलनको माग स्वायत्त मधेश प्रदेश भएको र त्यस विषयलाई अन्तरिम संविधानमा सुनिश्चित गरिएको स्मरण गर्दै संविधान बनाउनेहरूले आठ जिल्लामा मधेश प्रदेशलाई सीमित बनाइदिएको गुनासो गरे । उनले भने, ‘मधेश प्रदेश मेचीदेखिको महाकालीसम्मको समथर भूभाग हो । त्यसैले संविधान पुनर्लेखन वा संशोधनका माध्यमबाट त्यसलाई सुधार्नुपर्छ ।’

संविधान लेख्नेहरूले मधेशीलाई धोखा दिएका, जनजातिलाई टुक्रयाएर धोखा दिएका, महिला र दलितलाई उचित स्थान नदिएर धोखा दिएकाजस्ता आरोप पनि लगाए ।

एक अर्को प्रसंगमा मन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

स्वास्थ्यकर्मी फोरमका कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघिय राज्यमन्त्री दिपक कार्की , जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बालकिशोर यादव, मधेश सरकारका अर्थमन्त्री संजय यादव, खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको