काबुल:अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।
अफगानिस्तानमा डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘बघलान प्रान्तमा ३११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।’
अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेलाई बचाउन प्रयास गरिरहेका छन्। शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदो बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो। बघलानमा मात्रै ३ सयभन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको राष्ट्रसङ्घले बताएको छ ।
सयौँ नागरिकले विनाशकारी बाढीमा परी ज्यान गुमाएको सरकारका प्रवक्ता जबिहुल्ला मुजाहिदले जनाएका छन् । शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पु¥याएको अधिकारीहरूले बताए। आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसलाई बचाउन हतारिएका छन् । मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पु¥याएको छ ।
वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान शुरु गरेको र सयौँ घाइतेलाई अस्पताल सारेको बताएको छ। बाढी प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावितलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ ।