जनकपुरधाम:जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अफ्ठ्यारोमा परेका छन् ।

राईसहित बहुमत सांसदले पार्टी छोडेपनि अध्यक्ष यादवले आफूले तत्कालै सरकार छाडिहाल्ने मनस्थितिमा नरहेको बताएका थिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनले आफूमाथि कांग्रेससँग गठबन्धन बनाउन लागेको भनेर गलत आरोप लगाइएको भन्दै स्पष्टिकरण समेत दिएका थिए । तर प्रधानमन्त्री दाहालले नै यादवले सरकार छाडे सहज हुने संकेत गरेपछि यादव अफ्ठ्यारोमा परेका हुन् ।

जसपा, नेपालका सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिए पछि अध्यक्ष यादवले पनि सरकार छोड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका छन् ।

त्यसबारे उनले केहीबेर अघिदेखि पार्टीका केन्द्रीय कार्यकारिणी समितिका काठमाडौंमा उपलब्ध सदस्यहरूसँगको अनौपचारिक छलफल गरिरहेको एक नेताले जानकारी दिए । ’अब सरकारमा बसिरहने कुरा रहेन, सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय हुनसक्छ,’ कार्यकारिणी समितिका एक सदस्यले भने ।

कार्यकारिणी समितिको औपचारिक बैठक सोमबार काठमाडौंमा बस्ने तय भएको छ ।

मधेशमा एमाले र माओवादीले सरकार छोड्न लागेको सूचना पाएपछि आइतबार बिहान यादव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा यादवले आफूलाई गलत आरोप लगाइएको भन्दै त्यसकाविरुद्धको संघर्षमा साथ दिन आग्रह गरेका थिए । तर प्रधानमन्त्री दाहालले साथ नदिने संकेत गरेपछि यादवले त्यहीबेलै सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको