जनकपुरधाम:चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सर्लाहीमा आगलागीका घटनामा परी एक सय ६१ घर जलेका छन् । आगलागीबाट करोडौँको धनमाल क्षति भएको छ ।

जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की र एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएको र एक जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्नेक्रममा आगोले पोलेर आठजना महिला र पाँचजना पुरुष गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशुचौपाया मरेका र दुईवटा घाइते भएको बताए ।

सर्लाहीमा खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका छन्। गत वैशाख २० गते जिल्लाको दक्षिणपश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागीपीडित परविारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए ।

२० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र बारुणयन्त्र छन् । स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ । नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्वतयारीमा ध्यान नदिएको बताउछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको