जनकपुरधाम:लुटपाट गर्ने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको खुलेको छ ।

हत्यामा संलग्न सोही नगरपालिका वडा नं ५ का चन्द्र बहादुर सुवेदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले बैंकका सुरक्षा गार्डको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मधेश प्रदेश र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले बैंक सीसीटिभी फुटेजको अध्ययनको आधारमा सुवेदीलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो । चितवन प्रहरीको सहयोगमा उनलाई शनिबार राप्ती नगरपालिका–१ लोथरबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

त्यस्तै, प्रहरीले घटनामा प्रयोग भएको खुकुरी, ब्लेड, पिलास, डोरी, काठसमेत बरामद गरेको छ । सप्तकोशी नगरपालिका– २ घर भएका ५६ वर्षीय पर्शुराम फुँयाल बिहीवार बिहान बैंकमा सुतेकै ठाउँमा मृत फेला परेका थिए । अबेर गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

त्यसपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको