जनकपुरधाम:नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आगामी महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजहरुका नेताहरुको फरक मत नरहेको बताएको छ ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सम्माननित नेता झलनाथ खनालले प्रस्तुत गरेको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष डा. वेदुराम भुसालले प्रस्तुत गरेको विधान सम्बन्धी मस्यौदा प्रतिवेदनमा नेताहरुको फरक मत नरहेको दाबी गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आइतबार सम्पन्न पार्टी स्थायी कमिटीका सदस्यहरुले पनि ती दस्तावेजहरुमा फरक मत नराखेको बताए ।

नेकपा एसले पार्टीको आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा बोलाइएको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजहरुमाथि छलफल गर्न बोलाइएको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सोमबार सोही विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाइएको र पर्सीबाट शुरु हुने केन्द्रीय कमिटी बैठकले त्यसलाई परिमार्जनसहित पारित गरेर छलफलका लागि जिल्ला तहमा पठाइने प्रवक्ता खतिवडाले बताए ।

उनले भने, ‘यो महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुनेछन् । एउटा राजनीतिक प्रतिवेदन, अर्को संगठनात्मक प्रस्ताव । पार्टीको समाजवादी कार्यक्रम र विधान । यी सबै विषयमा हाम्रा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा व्यक्त गर्नुुभएको छ । यसलाई समेटेर पोलिटब्युरोमा प्रस्तुत गर्नेछौं ।’

उनले थपे, ‘पोलिटब्युुरोमा उठेका धारणाहरु समेट्दै केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछौँ । र केन्द्रीय कमिटीमा व्यक्त भएका विचारहरूसहित महाधिवेशनका दस्तावेजहरुलाई अन्तिम रुप लिएर जिल्ला कमिटीहरुमा छलफलका लागि पठाईनेछ । यसमा कुनै असहमती छैन । एउटै दस्तावेज आधिकारिक रुपमा देशव्यापी रुपमा जानेछ ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको