जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएका छन् ।

जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले संसद् सचिवालयलाई सोमबार पत्र लेखेर समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् ।

’उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन भएको सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकाले संसद्मा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ यादवले लेखेको पत्रमा भनिएको छ ।

प्रचण्ड सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्री रहेका उपेन्द्र र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले सोमबार राजीनामा दिएका थिए । संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रचण्डले पछिल्लोपटक २०८० फागुन ३० गते विश्वासको मत लिएका थिए ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनमा प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै एमालेले समर्थन फिर्ता लिएपछि २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

एक वर्षपछि कांग्रेसँगको समीकरण बदलेर एमाले–रास्वपासँग समीकरण बनाएसँगै फागुन ३० मा प्रचण्डले तेस्रोपटक विश्वासको मत लिएका थिए । पछिल्लोपटक प्रचण्डलाई प्रतिनिधि सभाका १५७ सांसदको समर्थन थियो । फागुन ३० मा समर्थन गरेका सबैले समर्थन गरे भने प्रचण्डसँग १५२ भोट बाँकी रहन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको