
काठमाडौ:उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति माग गर्दै आएको नेपाली कांग्रेसका भ्रातृसंगठनहरु सडक आन्दोलनमा उत्रिने भएका छन् ।
मातृपार्टीले संसद्भित्र आन्दोलन गरिरहेका बेला भ्रातृसंगठनहरुले जेठ १ गतेबाट सहकारी पीडितहरूको पक्षमा सडक आन्दोलनमा जाने घोषणा गरेका छन् ।
कांग्रेसका भ्रातृ संगठनहरु नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा छुट्टाछुट्टै आन्दोलन तयारी गरेका हुन्। महिला संघले जेठ १ गते (मंगलबार) र तरुण दलले जेठ २ गते (बुधबार) सडकमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
महिला संघले मंगलबार दिउँसो साढे १ बजे शान्ति बाटिकामा हुने विरोध र्यालीमा सहभागिताका लागि आह्वान गरेको छ । सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न, सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याइ कानुनी कारबाही गर्न सरकारलाई दबाब दिन विरोध ¥याली आयोजना गरिएको महिला संघले जनाएको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी पीडितको पक्षमा बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म विरोध ¥याली गरिने जानकारी दिए । उनले उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको अनौपचारिक बैठकबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।