
जनकपुरधाम:जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाएर नागरिक उन्मुक्ति पार्टी, जनमत र लोसपालाई सरकारमा ल्याउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघि बढाएको छ ।
यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो वार्तापछि उपेन्द्रलाई सरकारबाट हटाएको थियो । सोही योजना अनुसार माओवादी र एमाले दुवैले मधेस प्रदेश सरकार पनि छाडिसकेका छन् । यसबारे प्रधानमन्त्रीको सचिवालयले ‘जेठ १ गते नीति तथा कार्यक्रमपछि विकसित घटनाक्रमको आधारमा अघि बढनेछ ।’
स्रोतका अनुसार उपेन्द्रलाई सरकारबाट हटाउन उनका पार्टी फोडेर विभाजित जसपासहित रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा, लोसपा र जनमतलाई इन्ट्री गराउने रणनीति ओली र प्रचण्डको छ । उपेन्द्र आउट भएपछि विभाजित जसपालाई सरकारलाई प्रवेश गराईसकेको अब नाउपा, जनमत र लोसपालाई भित्रियाउने क्रम निती तथा कार्यक्रमपछि जेठ २ गतेपछि प्रक्रिया थालिने श्रोतको भनाई छ । ओली र प्रचण्डले तयारी गरेपनि यसबारे रञ्जिता केही बोलेकी छैनन् । किनकि उनलाई मन्त्री बनाउन प्रचण्डभन्दा ओली बढी खटिरहेका छन् ।
यता पार्टी संरक्षक रेशम चौधरी अहिले सरकारमा जान नहुने अडानमा छन् । उनले यसबारे भने, ‘पार्टी अध्यक्षले के गर्नुहुन्छ हेरेर बसेको छु ।’ रेशमले यसो भने पनि रञ्जिता सरकारमा जान ओली र प्रचण्डसँग निरन्तर छलफलमा रहेको बालुवाटार स्रोतको भनाइ छ । तर रञ्जितालाई पुरानै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय दिने तयारी प्रचण्डको रहेको छ ।
भूमि मन्त्रालयमा एमालेका बलराम अधिकारी छन् । उनीसँग साटफेर गर्न सकिने वा हटाउन पनि सकिनेछ । तर रेशम र रञ्जिताको जुहारी नरोकिए लोकतान्त्रिक समाजवादीलाई सो मन्त्रालय दिने तयारी पनि सत्ता गठबन्धनको रहेको छ । मधेसमा लोसपा पनि एमाले र माओवादीसहितको गठबन्धमा मिसिँदैछ । उपेन्द्र सरकारबाट बाहिरिएपछि अशोक राईको बार्गेनिङ पावर बढाएपनि उनलाई थप मन्त्रालय दिइएन ।
जसपा नेपाल वैशाख १३ गते अशोक राईले फुटाएका थिए । १२ संसद् रहेको जसपामा पार्टी फुटेपछि राई नेतृत्वको नयाँ जसपामा ७ र यादवतिर ५ संसद् खुलेका छन् । राईले निर्वाचन आयोगमा जसपा दर्ता गराएका छन् । अशोक राई सरकारबाट बिदा नहुने बरु अझै एकजना मन्त्री थप्ने दाउमा थिए, तर पाएन ।
फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका प्रचण्डको पक्षमा १५७ मत थियो । यस्तै कांग्रेसहितका ११० सांसदको मत विपक्षमा परेको थियो । अब जसपाका ५ संसद् बाहिरिँदा पनि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्दैनन् । ५ संसद् बाहिरिँदा १ सय ५२ संसदको समर्थन यथावत रहन्छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि अहिले नै सरकार छाड्ने योजनामा छैन । यसो हुँदा तत्काल नाटकीय परिवर्तन नभए प्रचण्ड अल्पमतमा पर्ने सम्भावना देखिँदैन । माधव नेपाल प्रधानमन्त्री मिले मात्रै गठबन्धनबाट दायाँबायाँ गर्ने योजनामा छन् । तर उनको पोल्टामा प्रधानमन्त्री पद पर्ने सम्भावना कमजोर छ ।
मधेस प्रदेशमा सरकार नेतृत्वको ग्यारेन्टी भए डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि संघीय सरकारमा सहभागी हुनेछ । पार्टी प्रवक्ता सरदसिहं यादवले भने, ‘हामीलाई मधेसको विकास गर्नुछ । यहाँका जनताको सेवक बन्नु छ । मधेस सरकारको नेतृत्व ग्यारेन्टी भए संघमा जान्छौँ । केन्द्रमा जसले चलाए पनि हुन्छ ।
अध्यक्ष राउत पनि मधेस प्रदेश सरकारमा मुख्यमन्त्री खोजिरहेका छन् । मधेसमा मुख्यमन्त्री मिल्ने अवस्थामा केन्द्र सरकारमा जाने पक्षमा उनी छन् । तर मधेसमा अहिले एमाले र माओवादी समेतले दाबी गरिरहेका छन् । यस्तोमा जसपाका सरोज यादवको ठाउँमा एमालेका सरोज यादव मुख्यमन्त्री हुनेछन् । तर यसबारे एमालेले कुनै निर्णय गरेको छैन । नयाँ बन्ने गठबन्धमा पनि संवाद जारी छ ।