जनकपुरधाम:मधेश प्रदेशमा अहिले नयाँ सरकार गठनका लागि जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्णायक बनेको छ । सरकार बनाउन जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन राखेको छ ।
एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ ।सत्ता गठबन्धन केन्द्रिय तहले जनमत र लोसपालाई फकाउन तिनीहरुको प्रदेश संसदीय समितिलाई छलफल गर्न भनी काठमाडौ बोलाएको छ ।
जनमत पार्टी मधेश प्रदेशका प्रमुख सचेतक सञ्जय यादवले केन्द्रीय सत्ता गठबन्धनसँग मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल भइरहेको बताए । उनले जनमतको बटमलाइन नै मुख्यमन्त्री रहेकाले सत्ता साझेदार दलहरू त्यसमा सहमत हुने आशा व्यक्त गरे । ‘मधेशमा नयाँ सरकार बनाउनका लागि संघमा शीर्ष नेताहरूबीच छलफल भइरहेको छ,’ जनमत पार्टीका प्रमुख सचेतक यादवले भने ।’ श्रोतका अनुसार जनमतका प्रादेशिक नेताहरु काठमाडौका गएको हो ।
मधेशमा नयाँ सरकार गठनका लागि शीर्ष नेताबीच नै छलफल गरेर टुंगो लाग्ने भएपछि एमाले, माओवादी, जनमत र लोसपाका मधेश प्रदेश केन्द्रित नेता काठमाडौं लागेका छन् । लोसपा पार्टीका उपनेता उपेन्द्र महतोले आफू सिन्धुलीको बाटो हुँदै काठमाडौंतिर लागेको बताए । ‘हामी विकल्पमा पनि जान सक्छौं । तर, जसपासहितको कांग्रेस गठबन्धनमा बसेर सरकार बनाउनु हाम्रो लागि अप्ठ्यारो स्थिति हुनेछ,’ जनमत पार्टीका प्रमुख सचेतक यादवले भने ।
यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले बुधबारका लागि बोलाइएको प्रदेशसभाको बैठक रोक्दै चालु अधिवेशन नै अन्त्यको सिफारिस गरेका छन् । मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार राति १२ बजेदेखि प्रदेश सभाको चालु दोस्रो अधिवेशन अन्त्य गरेकी छन् ।
एमाले–माओवादीले सरकारको साथ छोडदा मधेशमा जसपा नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबीच दुई दिनदेखि वार्ता भएपनि सहमति हुन सकेको छैन । एमाले, माओवादी, जनमत र लोसपा मिलेर मधेश प्रदेशमा नयाँ सरकार बनाउने समझदारी गरेको छ । कांग्रेस र जसपा नेपालले जनमत तथा लोसपालाई एमाले–माओवादी समीकरणमा जानबाट रोक्न खोजेका छन् ।
मधेशमा दुई खाले बनेको सत्ता समीकरणले तिव्र रुपमा खिचातानी बढेको छ । एमाले, माओवादी, जनमत र लोसपाबीच सत्ता साझेदारी हुँदा सरकार बनाउन बहुमत पुग्छ । मधेश प्रदेशमा १ सय ७ सांसद मध्ये एमालेको २४, माओवादीको ९, जनमतको १३ र लोसपाका ८ गरेर ५४ सांसद पुग्छ । जनमत र लोसपालाई तानेर कांग्रेस, जसपा र नेकपा(एस) मिलेर अर्को सत्ता गठबन्धन बनाउने कोसिस पनि भइरहेको छ । यसमा कांग्रेसको २२, जसपाको १९, जनमतको १३, लोसपाको ८ र नेकपा(एस)को ६ गरी ६८ सांसद हुन जान्छ । मधेशमा एक–एक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको संघीय समाजवादी पार्टी भने सत्ता हेरफेरको दाउमा अहिले मौन छन् ।